• ४ जेठ २०८१, शुक्रबार

मलको आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गरौं : डा. सङ्ग्रौला

blog

काठमाडौं, जेठ २५ गते । नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले देशमा भइरहेको मल अभाव आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयअन्तर्गत किसान पेन्सन योजना र पाँच खर्ब बराबरको कर्जा प्रवाह गर्ने कार्यक्रम सकारात्मक भएको बताउनुभयो ।

सरकारले रासायनिक मल कारखाना खोल्ने भनिए पनि किसानले मल पाउन नसकेको उहाँले बताउनुभयो ।

“बीउ, बिजन, मलको व्यवस्था गर्न सक्नुपर्दछ तर मलका गोदाम सबै खाली छन् । यसर्थ, सरकारलाई उच्च प्राथमिकता दिएर आग्रह गर्न चाहन्छु, कि भारत सरकारसँग कूटनीतिक पहलमार्फत मलको व्यवस्था होस् । कृषि मन्त्री भारतमै हुनुहुन्छ, यो बेला यसको पहल पनि गरियोस् ।,” उहाँले भन्नुभयो ।

मुलुकमा ६० प्रतिशत जनता कृषिमा आधारित रहेको र कुल ग्राहस्थ उत्पादनमा कृषिको २७ प्रतिशत योगदान रहेको र आगामी दिनमा यान्त्रिकीकरण, उद्योगीकरण गरेर कृषि क्षेत्रको विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

“धेरै बजेट र कार्यक्रम गरिएको छ, आत्मनिर्भर कृषि भनिएको छ । तीन सय अर्बभन्दा बढी रकम छ, आयात प्रतिस्थापन गर्न सक्नुपर्दछ, कृषि क्षेत्रमा विभिन्न कार्यक्रम ल्याइनुपर्दछ,” उहाँले उल्लेख गर्नुभयो ।