• ११ वैशाख २०८२, बिहिबार

एमालेको युवा उत्सव : भृकुटीमण्डप टिकटकमैत्री बनाइने

blog

पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराउनुहुँदै युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे साथमा काठमाडौँ नगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश पाण्डे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल । तस्बिरः सागर बस्नेत

काठमाडौँ, वैशाख १० गते। नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा बिहीबार ‘युवा उत्सव’ कार्यक्रम आयोजना गर्दैछ।

नेकपा (एमाले) ले काठमाडौँमा ‘अ युथ सेलिब्रेसन, जनताले जितेको दिन’ विषयमा जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको छ। 

युथ सेलिब्रेसन कार्यक्रमका संयोजक एवम् युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनिका एक लाख युवा सडकमा उतार्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नेकपा (एमाले) का ४० वर्ष मुनिका एक लाख युवालाई उत्सवमा सहभागी गराउन र लोकतन्त्र दिवसलाई भरपुर मनोरञ्जनमय ढङ्गले अगाडि बढाउन अन्तिम तयारी सम्पन्न भयो भनेर जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेका छौं।” 

उहाँले देशमा युवाका लागि सबैभन्दा ठूलो समस्या बेरोजगारी बनेको भन्नुहुँदै उद्यमशीलता र रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायत समृद्ध नेपाल, सुखी नेपालीको आवाजलाई अगाडि बढाउनुपर्ने भनाइ राख्नुभयो। 

काठमाडौंको प्रदर्शनीमार्ग, भृकुटीमण्डप क्षेत्रमा आयोजना हुने युवा उत्सव कार्यक्रममा एमालेका युवा नेताहरुको विशेष सम्बोधन रहने उहाँको भनाइ छ।  

उहाँका अनुसार कार्यक्रममा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति, सांस्कृतिक झाँकी र मनोरञ्जनात्मक प्रस्तुति रहनेछ। उहाँले कार्यक्रमस्थल फोटो खिच्न, टिकटक बनाउन महोत्सवमय बनाइएको बताउनुभयो।

उहाँले भन्नुभयो, “काठमाडौंको मुटु भृकुटीमण्डपलाई कार्यक्रमस्थल बनाइएको छ। कार्यक्रमस्थलमा सेल्फी खिच्न, टिकटक बनाउन, फोटो खिच्नका लागि पुष्पलाल, मदन भण्डारी, हसियाँ हथौडाको लोगो बनाएका छौं। सम्पूर्ण तरिकाले उत्सवमय महोत्सवको रुपमा मनाउन सांगीतिक, सांस्कृतिक झाँकी तथा क्रान्तिकारी गीतहरुको प्रस्तुति रहनेछ।”

पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे सहभागी हुनुभएको थियो। 

यस कार्यक्रममा सन्दर्भमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले प्रदर्शनीमार्गमा सो कार्यक्रम अवधिभर सडक अवरोध हुनसक्ने बताउनुभयो।

प्रवक्ता गिरीले भन्नुभयो, “बाटोमा र्‍याली भएपछि यातायात आवागमनमा असर पर्छ। भृकुटीमण्डमा कार्यक्रम भएको अवस्थामा भद्रकाली र पुतलीसडकबाट यातायात आवागमनका लागि व्यवस्थापन हुन्छ।”

भृकुटीमण्डप क्षेत्रमा भएको कार्यक्रम अवधिभरमा भद्रकाली र पुतलीसडकबाट सवारी साधन आवागमनका लागि व्यवस्थापन गरिने उहाँको भनाइ छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।