• १० वैशाख २०८२, बुधबार

कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्म स्थगित

blog

काठमाडौँ, वैशाख १० गते । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनेको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । विद्यालयका शिक्षक कर्मचारीको असहयोगका कारण बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अब परीक्षा वैशाख २१ गते आइतबारदेखि सञ्चालन हुने छ । शिक्षा ऐन माग गर्दै आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकले परीक्षालाई असहयोग गर्ने बताएपछि बोर्डले मङ्गलबार बिहान बैठक बसेर कर्मचारी परिचालन गरेर भए पनि परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको थियो तर बोर्डका अध्यक्षलगायतका पदाधिकारीले परीक्षा सञ्चालनसम्बन्धमा मङ्गलबार साँझै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । छलफलक्रममा प्रधानमन्त्री ओलीले अवस्था प्रतिकूल रहेकाले केही दिनका लागि परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनपछि बोर्डले औपचारिक रूपमा परीक्षा सार्ने निर्णय गरेको हो । 

परीक्षा स्थगित भएसँगै परीक्षार्थी तथा अभिभावकमा मानसिक तनाव थपिएको छ भने उच्च शिक्षाको वार्षिक तालिका पनि प्रभावित हुने देखिएको छ । बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा मुलुकभरबाट साढे पाँच लाख परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि स्वदेशमा एक हजार ५९० वटा तथा जापानमा एउटा केन्द्र तोकिएको छ । एउटा केन्द्रमा केन्द्राध्यक्षसहित कम्तीमा दस जना कर्मचारी आवश्यक पर्छ । सुरक्षाकर्मीसहित ५१ हजार कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ तर विद्यालयका शिक्षक तथा कर्मचारीको असहयोग रहने भएका कारण सरकार परीक्षा सञ्चालनबाट पछि हटेको हो । 

कक्षा १२ मा १४२ वटा विषयको परीक्षा हुन्छ । प्रश्नपत्र हरेक दिन परीक्षा सुरु हुनुअघि केन्द्रमा ओटिपीसहित इमेलबाट पठाउने बोर्डले तयारी गरेको थियो । उक्त इमेल पाँच मिनेटमा डाउनलोड गरेर सुरक्षाकर्मीको रोहबरमा छाप्नुपर्ने छ । 

परीक्षा स्थगित हुँदा दूरगामी असर पर्ने देखिएको छ । समयमै परीक्षा नभएपछि नतिजा प्रकाशनमा ढिलाइ हुने छ । नतिजा प्रकाशन विलम्ब हुँदा विदेशी विश्वविद्यालयले स्नातक तहमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति कोटामा भर्ना हुन समस्या पर्ने छ । 

परीक्षा नियन्त्रक शर्माले भन्नुभयो, “स्वदेशी विश्वविद्यालयलाई स्नातकको भर्ना केही दिन वा महिनै ढिलो खुलाउन अनुरोध गर्न सकिएला तर विदेशी विश्वविद्यालयले हाम्रा लागि मात्रै भनेर विद्यार्थी भर्ना स्थगित गर्दैनन् । यसको गम्भीर असर नेपाली विद्यार्थीमा पर्ने छ ।” वर्षभरि पढाएको विद्यार्थीको मूल्याङ्कन पनि आफैँ गरिदिन परीक्षा नियन्त्रक शर्माले आन्दोलनरत शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षक आन्दोलनअघि नै परीक्षाको तालिका सार्वजनिक गरिएको हुनाले पनि शिक्षकले कक्षा १२ को परीक्षालाई सघाउनुपर्ने परीक्षा नियन्त्रक शर्माको भनाइ छ । विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने तथा त्यसमा आफूहरूको पेसागत अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै विद्यालय शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन् । 

 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।