• ९ वैशाख २०८२, मङ्गलबार

वैकल्पिक सडक निर्माण, पाँच वर्षमा ७५ प्रतिशत काम

blog

वैकल्पिक मार्गअन्तर्गत बङ्गलाचुली–४ को जुम्लेपानी–जौलेबाध–ओखलढुङ्गा सडकखण्डको ट्रयाक ।

लीलाधर वली

घोराही, वैशाख ९ गते । दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिब ७५ प्रतिशत काम सकिएको छ । वैकल्पिक मार्ग निर्माण सुरु भएको पाँच वर्षको अवधिमा करिब ७५ प्रतिशत ट्रयाक खन्ने काम सकिएको हो ।  

घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग लगायतका उद्योगका लागि सञ्चालन हुने टिप्पर सञ्चालनका लागि २०७६ सालदेखि बंगलाचुली गाउँपालिका–४ जुम्लेपानी–जौलेबाध–ओखलढुङ्गा–ऊर्जा–बाछी–सुकाखोला मार्गको ट्रयाक खोल्ने काम सुरु भएको थियो । सिमेन्ट उद्योगकालागि चुनढुङ्गा बोक्ने टिप्परका कारण घोराही–कमिरेचौर–मुर्कुटी सडकखण्ड जीर्ण भएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा वैकल्पिक मार्ग निर्माणको काम सुरु भएको थियो । 

वैकल्पिक मार्गअन्तर्गत पाँच किलोमिटर सडकमध्ये हालसम्म करिब चार किलोमिटर सडकको ट्र्याक खन्ने काम भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवं इन्जिनियर लीलाधर गिरीले जानकारी दिनुभयो । वैकल्पिक सडकअन्तर्गत जुम्लेपानी–जौलेबाध–ओखलढुङ्गासम्मको सडकको ट्रयाक खन्ने काम सकिएको छ भने ऊर्जा–बाछी–सुकाखोला खण्डमा ट्याक खोल्ने काम बाँकी रहेको छ । बाँकी रहेको खण्डमा पनि ट्रयाक खन्ने काम सकिएपछि टिप्पर सञ्चालन गर्न सकिने सूचना अधिकारी गिरीले बताउनुभयो ।

ट्रयाक खोल्नका लागि बजेट अभावसँगै पहाडी क्षेत्रमा ठुला–ठुला चट्टान भएका र चट्टान फोड्न समय लाग्दा सडक निर्माणमा ढिलाई भएको सूचना अधिकारी गिरीले बताउनुभयो। सडकको ट्रयाक निर्माणसँगै जोखिमपूर्ण ठाउँमा वाल लगाउनुपर्ने, कल्र्भटसँगै नाला निर्माणको काम गर्नुपर्ने भएपनि बजेट अभावका कारण यो वर्ष काम हुन नसकेको बताउनुभयो । गत वर्ष काम गरेको पैसा यो वर्ष भुक्तानी दिइएको र यो वर्ष काम हुन नसकेको उहाँले बताउनुभयो । 

वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम पाँच वर्षअघि सुरु भएपनि बजेट अभावका कारण नियमित काम हुन सकेको छैन सूचना अधिकारी गिरीले भन्नुभयो, ‘नियमित रुपमा काम भएको भए अहिलेसम्म करिब काम सकिन्थ्यो । बजेटको समस्याले गर्दा नियमित काम हुन सकेको छैन ।’ वैकल्पिक मार्गको ट्रयाक खन्नका लागि हालसम्म करिब दुई करोड ५० लाख बढी रुपियाँ खर्च भइसकेको र पूर्ण रूपमा सडक सञ्चालन गर्न थप ६ करोड बढी रुपियाँ लाग्ने सूचना अधिकारी गिरी बताउनुहुन्छ । 

सडकको ट्रयाक खन्ने काम लगभग ७०-७५ प्रतिशत भएपनि खोलामा कल्भर्ट, जोखिमपूर्ण ठाउँमा जाली, वाललगाउनेदेखि नाला निर्माणलगायते काम गर्नुपर्ने भएकाले ६ करोड बढी बजेट लाग्ने बताउनुभयो । 

वैकल्पिक सडक निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परसँगै बङ्गलाचुली गाउँपालिका वडा नं. ३, ४, ६, र ८ नम्वर वडावासीलाई सेवा लिनका लागि करिमरेचौरमा रहेको गाउँपालिकाको कार्यालय पुग्न सहजता हुने बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउनुहुन्छ । गाडी हिँड्ने मोटरबाटो नहुँदा अहिले वडावासीलाई गाउँपालिका पुग्न हिड्नुपर्ने र गाडीमा जानका लागि घोराही बजार आएर कमिरेचौर पुग्नुपर्ने बाध्यता रहेको भन्दै वडाध्यक्ष डाँगीले बैकल्पिक माग निर्माण भएमा धेरै सहजता हुनेछ । 

त्यससँगै बैकल्पिक मार्ग निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि छोटो बाटो हुने र घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जाने सडकको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । टिप्पर सञ्चालनका लागि वैकल्पिक मार्ग नहुँदा बङ्गलाचुली गाउँपालिका हुँदै प्युठान जोड्ने सडक जीर्ण अवस्था रहेको छ ।