हुम्ला समाचारदाता
हुम्ला, कात्तिक १४ गते । माथिल्लो हुम्लाका हवाई यात्रुलाई टिकटका लागि गोलाप्रथाको सहारा लिनु परेको छ । हवाईजहाजहरू काठमाडौँ फिर्ता हुँदा उडान कम भएपछि यात्रुलाई टिकट पाउन गोलाप्रथाको सहारा लिनु परेको हो ।
एक हप्तादेखि नेपालगन्ज जाने तयारीमा रहेका सिमकोट गाउँपालिका–६ का रोहन रावतले बुधबार बेलुका टिकट वितरणका लागि सीता एयरले गोलाप्रथा प्रणाली लागु गरेपछि आफूले पाउन सफल भएको बताउनुभयो ।
सीता एयरले बिहीबार सिमकोटका लागि तीन उडान भरेको थियो । पहिलो उडानमा पर्यटकलाई ओसारेको थियो भने दोस्रो र तेस्रो उडानमा गोलाप्रथाबाट टिकट पाउन सफल यात्रुलाई ओसारेको थियो । सो जहाजमा टिकट पाउनका लागि एक सय जना यात्रुबिच गोलाप्रथा गरिएको थियो ।
एउटा उडानका लागि चार जनालाई मात्र गोलाप्रथाद्वारा टिकट वितरण गरिएको थियो । सीता एयरले १४ जना यात्रु बोक्ने गर्छ । गोलाप्रथाबाट टिकट नपाउने अर्का यात्रु छिरिङ लामाले हवाई टिकट पाउन भाग्यको खेलमा भर पर्नुपर्ने अवस्था हुम्लावासीलाई रहेको बताउनुभयो । केही बढी टिकटको गोलाप्रथा गरेको भए राम्रो हुने बताउँदै उहाँले हवाई टिकटको समस्या यात्रुका लागि जहिले पनि यस्तै हुने गरेको गुनासो गर्नुभयो ।
सीता एयरका सिमकोट शाखाका सहायक इन्चार्ज सूर्य लामाले यात्रु धेरै, टिकट सीमित भएको कारण बाध्य भएर गोलाप्रथाबाट सर्वसाधारणका लागि टिकट वितरण गरिएको बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                