• १४ कात्तिक २०८२, शुक्रबार

विद्यालय शिक्षा सुधार मार्गचित्र

blog

सामुदायिक विद्यालयको शिक्षामा सुधार गरी गुणस्तर वृद्धि गर्न कार्यरत शिक्षकको सक्षमता वृद्धि गर्नु पर्छ । विश्वविद्यालयका क्याम्पसले उत्पादन गरेका शिक्षाशास्त्र बिएड र एमएडकै आधारमा शिक्षक  नियुक्त गर्दा र शिक्षक हुन सक्ने मापदण्ड बनाउँदा भरपर्दो भएन । शिक्षाशास्त्र अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका शिक्षकमा विद्यार्थी शिक्षण गर्ने कुशलता नै विकास भएको देखिएन । शिक्षक छनोट गर्दा पनि केवल शिक्षाको सैद्धान्तिक पक्षबाट छनोट गरिन्छ । शिक्षक हुन चाहने उम्मेदवारमा शिक्षण गर्ने कुशल क्षमता विकास भएको छ छैन भन्ने विषयमा प्रयोगात्मक पक्षको मापन गर्ने प्रचलन विकास भएकै छैन । शिक्षक सेवा आयोगले पनि केवल सैद्धान्तिक पक्षको लिखत परीक्षबाट नै शिक्षक छनोट गर्छ । 

असल शिक्षक हुन शिक्षण गर्ने कौशलता, मूल्याङ्कन र मापन गर्ने क्षमतामा पनि पोख्त हुनु पर्छ । विद्यालयका सबै शिक्षकलाई एउटै बास्केटमा राख्न खोजेको होइन । हाम्रो शिक्षाशास्त्रका विभिन्न कार्यक्रमले विद्यालयमा शिक्षण गर्न सक्ने योग्य शिक्षक उत्पादन गर्न नसकेको त 

होइन ? विद्यालयले विषय मिलाएर शिक्षण गर्ने व्यवस्था मिलाउन नसकेको हो र ? पाठ्यक्रमले निर्धारण गरेका सबै विषय वस्तु विद्यार्थीले बुझ्न सक्ने गरी शिक्षकबाट प्रस्तुत हुन नसकेकै कारणले विद्यार्थी सिकाइमा पछि परेका होलान् ? एउटा कुशल र असल शिक्षकले काँचो नरम माटो जस्ता बालबालिकालाई आफ्नो कौशलताको प्रयोगले एउटा सुन्दर माटाको भाँडा निर्माण गर्न सक्छन् । शिक्षकले प्राप्त गरेको तालिमबाट त्यस्तो क्षमता, दक्षता र सिप हासिल नगरेको शिक्षक पनि हुन सक्छ ? त्यसको परिणाम एउटा बालक असल नागरिक बन्नबाट वञ्चित हुनु पर्छ । अहिले स्थानीय सरकारको शिक्षा एकाइले बारम्बार विद्यालय भ्रमण र अवलोकन गरेको देखिन्छ । यस्तो सतही भ्रमण अनुगमनले शिक्षाको गुणस्तर वृद्धिमा कुनै गुणस्तर वृद्धि हुने देखिँदैन । 

विद्यालय शिक्षामा गत वर्ष र यस वर्षको नतिजाको तुलना गर्दा गत वर्षको भन्दा यस २०८१ को परीक्षा नतिजाको सरोकार वालाले प्रशंसा गरेका छन् । यस वर्षको एसइईको नतिजाको लेखाजोखा र मूल्याङ्कन गर्दा निकै ठुलो प्रगति देखिन्छ । यस वर्षको एसइईको नतिजा ६१.८१ प्रतिशत थियो । त्यस परीक्षामा ३८.१९ प्रतिशत विद्यार्थी असफल भएर नन्गे्रडमा परेका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ भदौ (१–११) गतेसम्म सञ्चालन भएको पूरक परीक्षको नतिजा ५६.७८ प्रतिशत आएको छ । उक्त परीक्षामा पनि ४३.२२ प्रतिशत विद्यार्थी अझै अनुत्तीर्ण भएका छन् । यस वर्षको नतिजाबाट विद्यार्थी निकै लाभान्वित भएका  छन् । 

एसइई परीक्षाको नतिजामा प्रगति भएको छ । के शिक्षण सिकाइ र मूल्याङ्कनमा पनि सुधार भएको हो ? विद्यार्थीको लेख्ने पढ्ने र सम्झने क्षमता वृद्धि भएको हो ? एसइईको नतिजा राम्रो हुनुका कारण के के छन् ? उक्त प्रसङ्गमा विभिन्न शिक्षाविद्ले तर्क वितर्क र लेखाजोखा गरेका छन् । शिक्षण सिकाइ र मूल्याङ्कन परिपाटी पुरानै ढाँचामा चलिरहेको छ । त्यसमा कुनै परिवर्तन आएको छैन । शिक्षण सिकाइ, मूल्याङ्कन प्रणाली विभिन्न विषयका पाठ्यक्रम र पाठ्यपुस्तकमा भएको परिवर्तन र परिमार्जन अनुसार शिक्षकलाई क्षमता वृद्धिका लागि कुनै पुनर्ताजकी तालिम दिने कार्यक्रम पनि भएको छैन । एसइईमा भएको प्रगतिको विषयमा अभिभावक र विद्यार्थी स्वयम् पनि अनविज्ञ नै छन् । 

शिक्षण सिकाइ र मूल्याङ्कन परिपाटीमा कुनै किसिमको सुधार नगरी विद्यार्थीको परीक्षा नतिजामा व्यापक प्रगति कसरी हुन गयो ? शिक्षाको क्षेत्रमा यो एउटा अनुसन्धानको मूल विषय नै बनेको छ । सामुदायिक विद्यालयको शिक्षण सिकाइमा यति ठुलो परिवर्तन आएको हो त ? के हामीले कक्षाको शिक्षण सिकाइमा परिवर्तन गरी विद्यार्थीलाई सक्षम तुल्याएकै हौँ त ? होइन भने, हाम्रो मूल्याङ्कन र परीक्षा प्रणालीमा नै कमजोरी भएको त छैन ? गुणस्तर वृद्धिका लागि कुनै सुधारका कार्यक्रमबिना नै नतिजामा व्यापक प्रगति भएको देखिएको छ । कसरी यति ठुलो  प्रगति हुन गयो शिक्षाका सराकारवालाले शङ्का गर्नु स्वाभाविकै हो । 

अभिभावक र विद्यार्थीले खोजेको पनि नतिजा नै हो । विद्यार्थीको प्रमाणपत्रमा उल्लेख भए अनुसारको दक्षता र सिपको विकास भएको छ छैन,  उक्त विषयमा गहन अध्ययन गरी कहाँ के कस्तो कमजोरी भएको छ भन्ने पत्ता लगाई तत्काल योजनाबद्ध कार्यक्रम निर्माण गरी उपचार गर्न सकेको अवस्थामा मात्र शिक्षमा गुणस्तर वृद्धि हुन सक्छ । 

नेपालका सहरदेखि गाउँसम्मका अधिकांश सामुदायिक विद्यालयको विद्यालय भवन, कक्षा कोठा, फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलमैदान, दिवा खाजा र विद्यालयमा आउन जान बसको सुविधासमेत उपलब्ध छन् । शिक्षक सबै तालिमप्राप्त छन् । आवश्यक मात्रमा दरबन्दी पनि उपलब्ध छन् । तैपनि शिक्षाको गुणस्तरमा वृद्धि हुन सकेको छैन । यसै वर्षको एसइईको नतिजाबाट शिक्षामा गुणस्तर वृद्धि भएको देखिन्छ । के एसइईमा केही प्रतिशत विद्यार्थी उत्तीर्ण हँुदैमा शिक्षामा सुधार आएर र गुणस्तर वृद्धि भएको भन्न सकिन्छ ?  

गत चैत महिनामा भएको एसइईको परीक्षामा चार लाख ३८ हजार ८९६ परीक्षार्थी सम्मिलित थिए । त्यसमध्ये २ लाख ७१ हजार २९९ (६१.८१५) विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसमा एक लाख ६७ हजार ५९७ विद्यार्थी नन्ग्रेडमा परेका थिए । उक्त विद्यार्थीका लागि गत भदौ (१–११) गते सम्म ग्रेडवृद्धि पूरक परीक्षा भएको थियो । त्यस परीक्षामा दुई लाख १० हजार ३२१ विद्यार्थी सम्मिलित थिए । त्यसमध्ये एक लाख ११ हजार ४२५    (५६.७८५) विद्यार्थी ग्रेड वृद्धि पूरक परीक्षा उत्तीर्ण गर्न सफल भए । गत वर्षको परीक्षाको नतिजाभन्दा यस वर्षको नतिजा निकै राम्रो देखिन्छ । परीक्षाको नतिजा राम्रो  कसरी भयो ? त्यस विषयमा गहन अनुसन्धान र खोज हुनुपर्ने देखिन्छ । शिक्षामा गुणस्तर वृद्धि भएर नै परीक्षाको नतिजा राम्रो आएको हो वा परीक्षाको नतिजा मात्र राम्रो देखिएको हो ?  शिक्षाको गुणस्तर वृद्धि त भएको छैन । कतिपय विद्यालयको नतिजा शून्य अवस्थामा नै छ । 

विद्यालय जतिसुकै सम्पन्न भए पनि कक्षा शिक्षण र परीक्षा लिने परिपाटीमा कुनै परिवर्तन आएको छैन । परिणाम विद्यार्थी त्यसको सिकार भएका छन् । जुन विषय अभिभावकले बुझ्ने मौका नै पाएका छैनन् । अभिभावकले केवल मार्कसिटको अङ्क हेर्ने हो । जुन अङ्क देखेर अभिभावक मख्ख हुन्छन् । त्यो विद्यार्थीले लेखेर ल्याएको  अङ्क थियो थिएन ? अभिभावकले चाहेको अङ्क शिक्षकले दिएका हुन्छन् ।  यसको अर्थ विद्यार्थीले जुन कक्षामा जे जति सिक्नुपर्ने हो ? त्यो सिक्ने अवसर पाएकै हुँदैन । विद्यार्थी र शिक्षक कक्षामा नियमित हुन्छन्, शिक्षक पुस्तक पढिरहेका हुन्छन्, विद्यार्थीहरू शिक्षकले पढेको सुनिरहेका हुन्छन् । केही विद्यार्थीले शिक्षकले सिकाएको केही पनि सिक्न सकेकै हुँदैनन् । यो अधिकांश सामुदायिक विद्यालयको रोग नै हो । 

विद्यालयमा शिक्षण गर्ने अधिकांश शिक्षकको अन्तरआत्माको हृदयदेखि नै आफ्ना विद्यार्थीलाई कसरी दक्ष र योग्य बनाउन सकिन्छ भनेर सकारात्मक सोचको विकास गर्न सकिएको छैन । कक्षाका प्रत्येक विद्यार्थीको मनोभावनालाई बुझेर शिक्षण गर्ने शिक्षक तयार गर्न सक्नु पर्छ । शिक्षकले मनोवैज्ञानिक किसिमको गहन तालिम लिने अवसर पनि त पाएका छैनन् । 

कक्षाका विद्यार्थी सबै समान क्षमता भएका हुँदैनन् । शिक्षकले समान क्षमता भएका सम्झेर शिक्षण गर्ने गर्छन् । समुदायका विविध सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थाका विद्यार्थीको क्षमता पत्ता लगाई  शिक्षण गर्नुपर्ने हुन्छ । प्रत्येक विद्यार्थीको अवस्था र क्षमतालाई बुझेर शिक्षण गर्न सकेमा सबैले सिक्न सक्छन् । गुणस्तर वृद्धि गर्न सकिन्छ । सर्वप्रथम शिक्षक नै दक्ष हुनु पर्छ । शिक्षक दक्ष हुनु भनेको केवल शिक्षण गर्न मात्र होइन, स्तरीय प्रश्न पत्र निर्माण गर्न र विद्यार्थीको यथार्थ मूल्याङ्कन गर्न पनि सक्षम हुनु पर्छ । 

शिक्षक  आफूले शिक्षण गर्ने विषयको पाठ्यक्रममा प्रस्तुत भएका उद्देश्य प्राप्तिका लागि तयार गरिएको विशिष्टीकरण तालिकाका आधारमा गुणस्तरीय प्रश्नपत्र निर्माण गर्ने योग्य शिक्षकको पनि अभाव छ । प्रश्न पत्र निर्माण गर्दा ज्ञान, सिप र धारणा जस्ता सबै पक्षलाई समेटेर कुन पाठ शीर्षकबाट कस्तो प्रश्न कति अङ्क र कति समय दिने भन्ने विषयमा पनि शिक्षक पोख्त हुनु पर्छ । प्रस्तुत विषय नै शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रमुख आधार हुन् । 

विद्यालयको भौतिक सुविधा जुटाउनुभन्दा कार्यरत अधिकांश शिक्षकलाई विद्यार्थी शिक्षण गर्न, मूल्याङ्कन गर्न  कुशल र दक्ष बनाउनुपर्ने छ । शिक्षकलाई  शिक्षण र मूल्याङ्कन गर्न दक्ष तुल्याउन सके अरू तपसिलका विषय आफैँ सुधार हुन्छन्  । कुनै एउटा शिक्षकले कुनै उमेर समूह र तहका विद्यार्थीको परीक्षण गरी स्तर निर्धारण गरेको अवस्थामा उक्त विद्यार्थीलाई अन्य कुनै पनि शिक्षकले अन्यत्र कुनै स्थान र समयमा त्यसै विषयमा परीक्षण र मूल्याङ्कन गर्दा उक्त विद्यार्थीको शैक्षिक स्तरमा कुनै फरक पर्नु हुँदैन । कुनै पनि स्थान र समयमा उक्त विद्यार्थीको परीक्षण हुँदा गुणस्तरमा फरक पर्नु हुँदैन । हाम्रा विद्यालयका शिक्षकले कक्षा ९ मा परीक्षा लिएर सबै विद्यार्थी उत्तीर्ण गर्छन् तर कक्षा १० को परीक्षामा ती सबै विद्यार्थी अनुत्तीर्ण हुन्छन् । यस्तो मूल्याङ्कन र परीक्षण कसरी हुन्छ ? यस्तो कमजोरी किन र कसरी हुन गयो ? यस्ता त्रुटि पत्ता लगाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गहन अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । अनुसन्धानले औँल्याएका त्रुटिलाई निराकरण गर्न सकेको अवस्थामा मात्र शिक्षामा गुणस्तर वृद्धि हु्ने छ ।