• ९ पुस २०८२, बुधबार

सय दिनका १०१ काम

सुशासनको विषयमा सम्झाैता गरेका छैनौँ : मन्त्री घिसिङ

blog

ऊर्जा, भौतिक, सहरी विकासमन्त्री कुलमान घिसिङ एक सयदिने उपलब्धि सार्वजनिक गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडाैं, पुस ९ गते । ऊर्जा, भौतिक, सहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शिताको मामिलामा कतै सम्झाैता नगरेको बताउनुभएको छ । एक सयदिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शितालाई कठोरतापूर्व लागू गरिएको बताउनुभएकाे हाे । 

उहाँले सम्पत्ति विवरण सबै मन्त्रीले समयमै बुझाइसकेको बताउनुभएको छ । घिसिङका अनुसार सबै मन्त्रीले साढे दुई महिनामै विवरण बुझाएकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो । 

मन्त्री घिसिङले भन्नुभयो, ‘हामीले कर्मचारीको हिसाबमा विगत ३० वर्षदेखि नियमित सम्पत्ति विवरण पेश गरेका हुन्छौं । यो वर्षमा मन्त्रीमण्डलमा आएपछि साढे २ महिनाभित्र क्याबिनेटमा पेश गर्नुपर्ने नियमअनुसार सबै मन्त्रीले पेश गर्नुभएको छ । त्यसको सार्वजनिक गर्ने विषय प्रधानमन्त्री कार्यालयले नै गर्ने हो । हामीले हरेक वर्ष सम्पत्ति विवरण पेश गर्ने गरेका छौं । हामी परदर्शिता र सुशासनको विषयमा कटिबद्ध छौं । मैले सबै ठाउँमा भनेको छु, सुशासनको विषयमा हामीले कठोरतापूर्वक लागू गर्नुपर्छ । जेनजी आन्दोलनबाट आएका छौं, सुशासनको मामिलामा हामी तल माथि गर्न सक्दैनौँ । सुशासनको विषयमा  कहीँ पनि कम्परमाइज गरेका छैनौँ । सबै निकायहरुमा कुनै निकायमा समस्या आएको छ भने कारबाही गर्नुपर्ने अवस्था आएको छ र हामीले कारबाही पनि गरेका छौं।’ 

मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैछ ।

घिसिङले भन्नुभयो, ‘म मन्त्रीका रुपमा आएपछि राजनीतिक हिसाबले म इन्ट्री भएकै हो । राजनीतिक क्षेत्रमा जुन हिसाबले मन्त्री हुँदादेखि नै मैले म राजनीतिमा आएँ भनेको छु । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेर अघि बढेको छु । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौं । नोमिनेसनका लागि समय आउँछ । उपयुक्त समयमा हामी आवश्यक निर्णय गछौँ । अब अहिलेको सरकार चुनाव गर्ने सरकार हो । चुनाव गर्ने कार्यभार भएकाले त्यो भन्दा अरु कार्यभार छैन । चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौं । त्यसमा  मेरो भनाइ देशका लागि परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्व सही आउन आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन पछि हट्न हुँदैन । सबै एक भएर अघि बढ्नुपर्नेमा एक छौं।’

मन्त्री घिसिङले परिवर्तनलाई संस्था गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताउनुभयो । मन्त्री घिसिङले १०० दिने उपलब्धिभित्र बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको र मनसुनले क्षति पुर्‍याएकाे बिपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको लगायत कामहरु समावेश गर्नुभएको छ । 

घिसिङका अनुसार १०० दिनमा गरिएका कार्यहरुमा बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरिएको छ । त्यस्तै अपर अरुण जलविद्युत् आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बङ्गलादेशमा १९ अर्ब रुपियाँ बराबर विद्युत् निर्यात भएको उपलब्धि सूचीमा समावेश गरिएको छ । 

भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा छन् । वीपी राजमार्गको पुन:निर्माणकाे कामलाई पनि उपलब्धिको सूचीमा मन्त्री घिसिङले राख्नुभएको छ ।