• २४ असार २०८१, सोमबार

निर्यातको पचास प्रतिशत हिस्सा खाने तेलको

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, जेठ २४ गते । नेपालबाट निर्यात हुने वस्तुहरूमा ५० प्रतिशत हिस्सा खाने तेलको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म एक खर्ब ७३ अर्ब ३७ करोड ८२ लाख १२ हजार रुपियाँको बराबरको कुल निर्यात हुँदा ५०.२ प्रतिशत अर्थात् ८७ अर्ब ६० करोड रुपियाँ बराबरको खाने तेल (भटमास, पाम तेल र सूर्यमुखी)  छ ।

निर्यातमा खाने तेलको हिस्सा ५० प्रतिशत रहे पनि जुन स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात पुनः प्रशोधन गरेर निर्यात हुने गरेको छ । स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी भ्यालु एड गरेर निर्यात हुँदा निर्यात दीर्घकालीन हुने व्यापार विज्ञहरूले बताएका छन् । सो अवधिमा सोयाबिन तेलको निर्यात २६.८५ प्रतिशतले बढेर ४५ अर्ब ३५ करोड २१ लाख ७० हजार रुपियाँको आयात भएको छ । 

चालू आवको १० महिनामा ८४ अर्ब १५ करोड रुपियाँ बराबरको तेलको कच्चापदार्थ आयात गरेर पुनः प्रशोधन गरेर ८७ अर्ब ६० करोड रुपियाँको निर्यात भएको छ ।यस्तै १० महिनामा पाम आयल तेलको निर्यातमा २१.८९ प्रतिशतले बढेर ३७ अर्ब ९४ करोड ७३ लाख ८० हजार रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । यस्तै ४२ अर्ब ९८ करोड आठ लाख ५२ हजार रुपियाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ । 

१० महिनाको अवधिमा बाहिरी मुलुकबाट भटमास र पाम तेलको कच्चा पदार्थ ८४ अर्ब १५ करोड रुपियाँको आयात भएको छ । जसमा ४९ अर्ब ४१ करोड रुपियाँ बराबरको भटमासको कच्चा पदार्थ र ३४ अर्ब ७४ करोड रुपियाँ बराबरको पाम तेलको कच्चा पदार्थ आयात भएको विभागको तथ्याङ्क छ । 

व्यापारविज्ञ रविशङ्कर सैँजू कच्चा पदार्थ आयात गरी भ्यालु एड गरेर हुने निर्यातले दीर्घकालीन नहुने बताउनुभयो । “निर्यात बढाउनुका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो, “अहिले तेल नै आयात गरेर प्याकेजिङ गरेर बिक्री हुने गरेकामा भटमासकै दाना आयात गर्दा यसले उद्योग स्थापना गर्नुका साथै रोजगारी सिर्जना हुन्छ ।” भटमासको दाना ल्याएर नेपालमा पेलाउने हो भने पिनाको समेत उपयोग हुने उहाँको भनाइ छ ।  

कुखराको दानामा मिसाउनका लागि ठूलो परिणाममा पिनासमेत आयात हुने गर्छ । व्यवसायीले पाम तेलको कच्चा पदार्थ मलेसियाबाट आयात गरी पुनः प्रशोधन गरेर निर्यात गर्दै आएको छन् । पाम तेलको आयात जुनसुकै बेला पनि रोक हुन सक्ने भएकाले पनि यसको निर्यात दीर्घकालीन नभएकाले स्वदेशी उत्पादनको प्रवर्धनमा जोड दिनुपर्ने सैँजूले बताउनुभयो । भटमासको कच्चा पदार्थ युक्रेनसँगै अमेरिकी मुलुकबाट आयात हुने गर्छ । 

सरकारले आर्थिक ऐन २०७९ मार्फत चाउचाउ, बिस्कुट उद्योगलाई आवश्यक पर्ने तेल आयातमा ५ प्रतिशत भन्सार महसुलको व्यवस्था गरेको छ । तेल उद्योगीले भने कच्चापदार्थ भनी ल्याउने पाम तेलमा १० प्रतिशत महसुल तिर्दै आएका छन् । नेपालमा कुल आयात हुने पाम तेलमध्ये ४० प्रतिशत चाउचाउ उद्योगले नै खपत गर्ने गरेका छन् ।

यसैबीच बजारमा खाने तेलको मूल्य एक महिनाको अवधिमा लिटरमा ५० रुपियाँ बढेको छ । एक महिनाअघि प्रतिलिटर तीन सय रुपियाँ रहेको सूर्यमुखी तेलको मूल्य बढेर ३५० रुपियाँ पुगेको छ । रुस र युक्रेनको युद्धका कारण खाने तेलको मूल्यमा उच्च वृद्धि भएको हो । विश्व बजारमा खाने तेलको मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।