• १३ साउन २०८१, आइतबार

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

blog

टस गरेपछि दुवै टोलीका कप्तान । तस्बिर सौजन्य : क्यान

काठमाडौं, जेठ २२ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा विजयी भएको छ ।

प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा शनिबार राति भएको खेलमा नेपालले टेक्ससको ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल नेपाल अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो । नेपालको जितमा रोहितकुमार पौडेलले सतकीय इनिङ्स खेल्नुभयो । पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ५० रन बनाएको थियो । 

नेपालका लागि रोहितले १ सय १ रन जोड्नुभयो । आरिफ शेखले ४१, दिपेन्द्र सिंह ऐरीले २४, देव खनालले १९ सुनिल धमलाले १३ र करण केसीले १२ रन बनाउनुभयो । बलिङमा हरिकेन्सका मोहम्मद इलियासले पाँच विकेट लिनुभयो । हरमित सिंहले दुई विकेट लिनुभयो । 

नेपालले दिएको दुई सय ५१ रनको विजयी लक्ष्य छ्याएको हरिकेन्सले ४३.३ ओभरमा  सवै विकेटको क्षतिमा दुई सय २१ रन बनाएको थियो । हरिकेन्सका निनाद रनिम्बालकरले ९९ रनको अर्धसतकीय इनिङ खेल्नुभयो । एन्ड्रिस गौसले २८, रमिज राजाले २२ र गौरभ बजाज १५ रन बनाउनुभयो । बलिङमा नेपालका सोमपाल कामीले पाँच विकेट लिनुभयो । किशोर महतो र सागर ढकालले दुई दुई विकेट लिनुभयो । 

आईसीसी विश्वकप लिग–२ को यस सिरिजमा नेपाल आयोजक अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजमा नेपालले पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।

आईसीसी लिग–२ मा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।