• १३ साउन २०८१, आइतबार

मरस्याङ्दी एक हजार ३ सय ६ घरमा खानेपानी

blog

बेलिना थापा

लमजुङ, जेठ २२ गते । लमजुङको मस्र्याङदी गाउँपालिकाले पाँच बर्षे अवधीमा एक हजार ३ सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको छ । स्वच्छ खानेपानी पाउनु नागरिको अधिकार भएकाले नागरिकलाई खानेपानीको सुविधा दिएको उहाँको भनाई छ । उहाँकाअनुसार गाउँपालिकाका नौ वटै वडामा खानेपानी योजना सञ्चालन गरिएको छ । 

‘खानेपानी अभावले समस्या भएको नागरिकको गुनासो थियो । केही ठाउँमा पानी पुग्न सकेको थिएन । नपुगेका ठाउँलाई बजेट छुट्याएर योजना लगेका छौं । केही ठाउँमा सञ्चालन हुँदैछ’ उहाँले भन्नुभयो, ‘नागरिकलाई स्वच्छ खानेपानी दिन गाउँपालिकाले सक्दो पहल गरेको छ ।’ 

सबैभन्दा धेरै वडा १ र ६ मा ६–६ वटा योजना सञ्चालन भएको छ । वडा १ मा ६ वटा योजनाबाट ९७ घर लाभान्वित भएका छन् । वडा ६ मा ६ योजनाबाट १ सय १८ घर लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।  

यस्तै वडा २ मा ४ वटा योजनाबाट १ सय ७० घर लाभान्वित भएका छन् । वडा ३ मा ३ योजनाबाट १ सय ७३ घर लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार वडा ४ मा ४ योजनाबाट ९९ घर लाभान्वित भएका छन् । वडा ५ मा ३ योजनाबाट ६० घर, वडा ७ मा २ योजनाबाट १ सय २५ घर, वडा ८ मा २ योजनाबाट ५५ घर लाभान्वित भएका छन् । 

यसैबीच वडा ९ मा ४ योजना सञ्चालन भएको थियो । उक्त योजनाबाट ४ सय ९ घरधुरीले खानेपानी सुविधा पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नागरिकको अति आवश्यकतालाई मध्यनजर गरी काम गरेको जनाएको छ ।