• १८ असार २०८१, मङ्गलबार

कालिका मन्दिर जीर्णोद्धारको पर्खाइमा

blog

गणेश पौडेल

पर्वत, जेठ २१  गते । कुस्मा नगरपालिकास्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको कालिका मन्दिर जीर्णोद्धार नहुँदा सङ्कटमा परेको छ । पुरातत्त्व विभागले पुरातात्त्विक संरचनाको पुनर्निर्माण तथा जीर्णोद्धारका लागि बजेट छुट्याउँदै आए पनि कालिका मन्दिरमा भने चासो नदेखाएको मन्दिर संरक्षण समितिको गुनासो छ ।

ठूलीपोखरीको बाटुलेचौरमा रहेको प्राचीन शिव तथा कालिका मन्दिरको मुख्य संरचना जीर्णोद्धार नहुँदा सङ्कटमा परेका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनर्निर्माणका लागि बजेट विनियोजन गरे पनि पुरातìव विभागले काम गर्न नदिँदा समस्या भएको मन्दिर संरक्षण समितिका सचिव विश्व लामिछानेले बताउनुभयो ।

सो मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को बजेटमा २० लाख रुपियाँ विनियोजन भएको थियो । तर, विभागले पुरातात्त्विक  मन्दिरको पुनर्निर्माणका लागि अनुमति लिनुपर्ने सर्त अगाडि सारेपछि काम रोकिएको हो । मन्दिर पुनर्निर्माणका लागि बजेटसमेत पर्याप्त नभएको समितिका पदाधिकारीले बताएका छन् । २०७२ सालको भूकम्पका कारण ११५ वर्ष पुरानो यो मन्दिरको भित्ता चर्किनुका साथै छाना चुहिने भएकाले जीर्णोद्धार गर्नुपर्ने भएको छ । 

मन्दिर जीर्ण बन्दै गए पनि मुख्य मन्दिरभित्र पूजा गर्न समेत डराउनुपरेको मन्दिरका पुजारी देवराज सुवेदीले बताउनुभयो । ठूलो पानी परेको समयमा पूजा गर्न समेत डराउनुपर्छ, उहाँले भन्नुभयो, कुन बेला छाना खस्ने हो भन्ने डर लाग्छ ।  २०३२ सालमा कालिकाको बहुमूल्य मूर्ति चोरी भएको थियो । सो मूर्ति हालसम्म फेला पार्न सकिएको छैन । मन्दिरभित्रका हातहतियार र पुरानो शङ्ख तथा घण्टीसमेत चोरी भएका छन् । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश पौडेलले मन्दिरको जीर्णोद्धार नहुँदा आवश्यक सुरक्षा व्यवस्थामा समस्या देखिएको बताउनुभयो । 

तत्कालीन राजा दशरथले भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि पूजाआजा गर्न मन्दिर निर्माण गरिएको किंवदन्ती छ ।  भृगु ऋषिको तपस्यास्थल भनिएको ठाउँमा रहेका विभिन्न सम्पदा पनि चोरी भएका छन् । स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्यस्थानमा करिब दुई सय वर्ष पुराना संरचना छन् । विक्रम संवत् १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गर्नुभएपछि नियमित पूजा हुँदै आएको पुजारी सुवेदीले बताउनुभयो ।