काठमाडौँ, चैत ११ गते । प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभएबमोजिम सोमबार दिउँसो सिंहदरबारमा शीर्ष नेता र विज्ञबिच बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायत नेता सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेलले भन्नुभयो, “आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभए बमोजिम नै दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भयो । शान्ति प्रक्रियाको बाँकी काम अर्थात् सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समय अगाडि दुइवटै आयोगहरु गठन गर्नका निम्ति बनेको सर्च कमिटी सिफारिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदन पनि यहाँ राखियो ।”
उहाँले यस सम्बन्धमा दलहरुबिच सहमति निर्माण गरेर अगाडि जाने विगतको परम्परा जस्तै यस पटक पनि तीन दलका शीर्ष नेताबिच छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसमा एउटा निष्कर्षमा आज हामी पुगेका छौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीजीले दुई दलका नेताहरुसँग परामर्श गर्नुभयो ।”