• १० पुस २०८२, बिहिबार

पाइलट टीका चौधरीलाई सम्मान

blog

पाइलट टीका चौधरीलाई सम्मान गरिदैंँ । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १० गते । थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ ।

बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गर्नु भएको छ । यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उहाँले अझै एक सय घण्टाको एकल उडान बाँकी रहेको छ । 

आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिनासम्म लाग्न सक्ने चौधरीले बताउनुभयो । बिदामा आउनु भएकी उहाँले पाइलट तालिम गाह्रो रहने गरेको उल्लेख गर्दै आफूले हिम्मत, संघर्ष गरेर तालिम पूरा गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो । 

थारु समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय रहेको बातचित घरका बरघरिया करियाप्रधानले बताउनुभयो ।