ढाका, पुस १० गते । बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले बङ्गलादेश अवामी लिगले आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय संसदीय निर्वाचनमा सहभागी हुन नपाउने स्पष्ट गर्नु भएको छ ।
उहाँका अनुसार पार्टीमाथि लगाइएको राजनीतिक गतिविधि प्रतिबन्ध र निर्वाचन आयोगद्वारा दर्ता रद्द गरिएकाले अवामी लिगको चुनावी सहभागिता सम्भव छैन । बुधबार राजधानी ढाकास्थित फरेन सर्भिस एकेडेमीमा अन्तरिम सरकारको सल्लाहकार परिषदको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आलमले सरकारको निर्णयबारे जानकारी दिनुभयो ।
यस क्रममा अवामी लिगमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पाँच अमेरिकी सांसदले मुख्य सल्लाहकारलाई पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफमा उहाँले आफूले उक्त पत्र नदेखेको तर सरकारको अडान स्पष्ट रहेकोमा जोड दिनुभयो । “अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइएको छ र निर्वाचन आयोगले पार्टीको दर्ता रद्द गरिसकेको छ । त्यसैले अवामी लिगले आगामी निर्वाचनमा भाग लिन सक्ने छैन”, उहाँले भन्नुभयो ।
यस वर्ष मे महिनामा अन्तरिम सरकारले बङ्गलादेश अवामी लिग र यसका सम्बद्ध तथा भ्रातृ सङ्गठनको सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र अधिसूचना जारी गरेको थियो । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा मुद्दा टुङ्गो नलागेसम्म प्रतिबन्ध कायम रहने उक्त निर्णय गृह मन्त्रालयअन्तर्गत सार्वजनिक सुरक्षा विभागले आतङ्कवाद विरोधी (संशोधन) अध्यादेशअनुसार लिएको हो ।
गत वर्ष जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको करिब एक वर्षपछि बङ्गलादेश फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचनतर्फ अग्रसर भइरहेको छ । तर पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगबिनाको चुनावलाई ‘चुनाव नभई राज्याभिषेक’को संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “अवामी लिगबिनाको चुनाव चुनाव होइन । जनताको मतविना शासन गरिरहेका युनुसले लोकप्रिय जनादेशबाट पटक-पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउन खोजिरहनुभएको छ ।” उहाँका अनुसार अवामी लिगमाथिको प्रतिबन्ध कायम रहे लाखौँ मतदाता प्रभावकारीरूपमा मताधिकारबाट वञ्चित हुने छन् र त्यस्तो प्रक्रियाबाट बन्ने कुनै पनि सरकार नैतिक वैधताविहीन हुने छ । राजनीतिक तनाव चुलिँदै गएको अवस्थामा बङ्गलादेशले फेब्रुअरी २०२६ मा हुने निर्वाचनलाई निर्णायक मोडका रूपमा हेरिरहेको छ । रासस/एएनआई