ढाका, पुस १० गते । बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले बङ्गलादेश अवामी लिगले आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय संसदीय निर्वाचनमा सहभागी हुन नपाउने स्पष्ट गर्नु भएको छ ।
उहाँका अनुसार पार्टीमाथि लगाइएको राजनीतिक गतिविधि प्रतिबन्ध र निर्वाचन आयोगद्वारा दर्ता रद्द गरिएकाले अवामी लिगको चुनावी सहभागिता सम्भव छैन । बुधबार राजधानी ढाकास्थित फरेन सर्भिस एकेडेमीमा अन्तरिम सरकारको सल्लाहकार परिषदको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आलमले सरकारको निर्णयबारे जानकारी दिनु भयो ।
यस क्रममा अवामी लिगमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पाँच अमेरिकी सांसदले मुख्य सल्लाहकारलाई पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफमा उहाँले आफूले उक्त पत्र नदेखेको तर सरकारको अडान स्पष्ट रहेकोमा जोड दिनु भयो । “अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइएको छ र निर्वाचन आयोगले पार्टीको दर्ता रद्द गरिसकेको छ । त्यसैले अवामी लिगले आगामी निर्वाचनमा भाग लिन सक्ने छैन”, उहाँले भन्नु भयो ।
यस वर्ष मे महिनामा अन्तरिम सरकारले बङ्गलादेश अवामी लिग र यसका सम्बद्ध तथा भ्रातृ सङ्गठनको सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र अधिसूचना जारी गरेको थियो । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा मुद्दा टुङ्गो नलागेसम्म प्रतिबन्ध कायम रहने उक्त निर्णय गृह मन्त्रालयअन्तर्गत सार्वजनिक सुरक्षा विभागले आतङ्कवाद विरोधी (संशोधन) अध्यादेश अनुसार लिएको हो ।
गत वर्ष जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको करिब एक वर्षपछि बङ्गलादेश फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचनतर्फ अग्रसर भइरहेको छ । तर पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगबिनाको चुनावलाई ‘चुनाव नभई राज्याभिषेक’को संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “अवामी लिगबिनाको चुनाव चुनाव होइन । जनताको मतविना शासन गरिरहेका युनुसले लोकप्रिय जनादेशबाट पटक-पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउन खोजिरहनु भएको छ ।” उहाँका अनुसार अवामी लिगमाथिको प्रतिबन्ध कायम रहे लाखौँ मतदाता प्रभावकारीरूपमा मताधिकारबाट वञ्चित हुने छन् र त्यस्तो प्रक्रियाबाट बन्ने कुनै पनि सरकार नैतिक वैधताविहीन हुने छ । राजनीतिक तनाव चुलिँदै गएको अवस्थामा बङ्गलादेशले फेब्रुअरी २०२६ मा हुने निर्वाचनलाई निर्णायक मोडका रूपमा हेरिरहेको छ । रासस/एएनआई