जेनेभा, चैत ११ गते । संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले र १०० भन्दा बढी साझेदारले रोहिङ्ग्या सङ्कटका लागि सन् २०२५–२६ को संयुक्त प्रतिकार्य योजना सुरु गर्न लागेको जनाएको छ । उक्त अपिलमा रोहिङ्ग्या शरणार्थी र ‘होस्ट’ समुदायसहित करिब १४ लाख ८० हजार मानिससम्म पुग्न पहिलो वर्ष ९३ करोड ४५ लाख अमेरिकी डलर माग गरिएको छ । सन् २०१७ मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कारबाहीबाट भागेर आएका बङ्गलादेशका करिब १० लाख मुस्लिम र अधिकांश मुस्लिम अल्पसङ्ख्यक शरणार्थी राहत शिविरमा बस्दै आएका छन् ।
“आठौं वर्षमा पनि रोहिङ्ग्या मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाट धेरै हदसम्म बाहिर छ, तर आवश्यक छ,” सोमबारको विज्ञप्तिमा भनिएको छ । खाद्य सहायता, खाना पकाउने इन्धन वा आधारभूत आवासमा कटौती लगायतका महत्वपूर्ण क्षेत्रमा कुनै पनि कोषको कमीले यस अति जोखिममा रहेको जनसंख्याका लागि गम्भीर परिणाम निम्त्याउने छ ।
यसले धेरैलाई सुरक्षाको खोजीमा खतरनाक डुङ्गा यात्रा गर्नेजस्ता हताश उपायहरू अपनाउन बाध्य पार्न सक्छ । संयुक्त राष्ट्रसङ्घले शिविरमा रहेका शरणार्थी जनसङ्ख्यामध्ये आधाभन्दा बढी महिला र किशोरी रहेको र उनीहरु लैङ्गिक हिंसा र शोषणको उच्च जोखिममा रहेको जनाएको छ । एक तिहाइ शरणार्थी १० देखि २४ वर्ष उमेर समूहका रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, “औपचारिक शिक्षामा पहुँच, पर्याप्त सीप विकास र आत्मनिर्भरताका अवसरबिना उनीहरूको भविष्य धरापमा परेको छ ।”
म्यानमाको रखाइन राज्यमा स्थिति शान्तिपूर्ण र सुरक्षित र स्वेच्छिकरूपमा फर्कन अनुकूल नभएसम्म अन्तर्राष्ट्रिय समुदायले शिविरमा रहेका शरणार्थीहरूलाई जीवनरक्षाका लागि आर्थिक सहयोग जारी राख्नुपर्छ, विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी