• १० पुस २०८२, बिहिबार

पोखराको हर्राबोटमा सुन्तला महोत्सव

blog

पोखरा–२१ मा बिहीबार आयोजना गरिएको सुन्तला महोत्सव। तस्बिरः गोरखापत्र

लेखनाथ, पुस १० गते। कास्कीको पोखरा महानगरमा यस वर्ष करिब १० करोडको सुन्तला उत्पादन भएको कृषि महाशाखाको अनुमान छ। क्षेत्रफलको दृष्टिले देशकै ठुलो महानगर पोखराको सुन्तला उत्पादनमा सबैभन्दा बढी योगदान वडा नम्बर २१ को छ। करिब पाँच करोडका सुन्तला फल्ने यही वडाको हर्राबोटमा बिहीबार सुन्तला महोत्सव आयोजना गरिएको छ। 

वडा कार्यालयले वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा महोत्सव आयोजना गरेको हो। ‘नेपालीको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग’ भन्ने उद्घोषका साथ भएको महोत्सव महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भयो। उहाँले किसानको सम्मान र स्थानीय उत्पादनको प्रवर्धन गर्न महोत्सवले सघाउने उल्लेख गर्नु भयो।  

“किसानलाई सम्मान गर्दै स्थानीय उत्पादनलाई बढावा दिन महोत्सव फलदायी सावित भएको छ,” आचार्यले भन्नु भयो, “अर्गानिक सुन्तलाको प्रवर्धनले फलफूल र कृषि उत्पादनमा महानगरलाई आत्मनिर्भर बनाउन पनि भूमिका खेल्छ।” महानगरपालिकाको एक वडा, एक उत्पादन कार्यक्रम अन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा स्थापित वडा नं. २१ का किसानलाई लक्षित गर्दै यहाँ पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको हो। महानगरका वडा नं. २१, २२, १६, २३, २८ र ३३ मा सुन्तला उत्पादन हुन्छ।

महोत्सवमा किसानले आफ्नै बगैँचामा उत्पादन गरेका अर्गानिक सुन्तला बिक्रीका लागि राखेका छन्। महोत्सवमा पाँच करोड बराबरको सुन्तला बिक्री हुने अपेक्षा गरिएको छ। पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीले वडाका किसानको जीवनस्तर उकास्न सुन्तला खेतीको ठुलो भूमिका रहेको जनाउनु भयो। 

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले सुन्तला ग्रडिङ गर्ने, सुन्तला खाने लगायतका प्रतियोगितासहितका सांस्कृतिक कार्यक्रमले किसानलाई उत्साह थप्नुका साथै पर्यटन प्रवर्धनमा पनि सघाउने अपेक्षा गर्नु भयो। महोत्सवमा गुणस्तर तथा ग्रेडिङको आधारमा न्यूनतम प्रतिकेजी ५० देखि एक सय रुपियाँसम्म मूल्य निर्धारण गरी सुन्तला बिक्री गरिएको छ। 

यसरी सुन्तला बिक्री गरेका किसानलाई महानगरबाट प्रतिकेजी १० रुपियाँ प्रोत्साहनस्वरूप उपलब्ध गराइने कडरियाले जानकारी दिनु भयो। महोत्सव सुन्तलासँगै स्थानीय फलफूल, तरकारीसहित अन्य कृषि उपज प्रदर्शन र बिक्री भइरहेको छ।