काठमाडौँ, चैत ९ गते । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गर्नुभएको हो । क्लबले आफ्नो रातो र कालो दुई रङको जर्सी सार्वजनिक गरेको हो । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किएको छ ।
जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस संस्करणको उपाधि पनि ललितपुरलाई जित्न शुभकामना दिनुभयो । उहाँले उपाधि जितेर आएमा टिमलाई यसपटक पनि नेवारी भोज खुवाउने बताउनुभयो ।
यस्तै उहाँले महानगरले फुटबल क्लबहरुलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको जानकारी दिँदै ललितपुर सिटीले एनएसएल जितेमा यस पटक ठूलो राशीको सम्मान गर्ने वाचा पनि गर्नुभयो । ललितपुर सिटी एफसीको मार्की खेलाडीमा अनन्त तामाङ रहनुभएको छ । ललितपुरले चैत्र १६ गते हुने उद्घाटन खेल काठमाडौँ रेजर्स एफसी विरुद्ध खेल्नेछ।
यस्तै ललितपुरको जर्सी सार्वजनिक कार्यक्रममा इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व रक्षक रियो पर्डिनान्डले हस्ताक्षर गर्नुभएको ललितपुर सिटी एफसीको जर्सी अक्सन गराइएको थियो । उक्त जर्सी एक लाख १५ हजारमा विक्री भयो ।
सुरुवातमा ५० हजार रुपियाँ मुल्य तोकिएको जर्सी अन्तिममा सरोज कार्कीले एक लाख १५ हजार रुपियाँ बोल कबोल गर्दै किन्नुभएको हो । उहाँ युनाइटेडको समर्थक समेत हुनुहुन्छ ।