काठमाडौँ, पुस १० गते । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख रुपियाँ रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्टलाई जनही २५ हजार रुपियाँबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार रुपियाँसहित सम्मान गरिने छ ।
खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । सुरुका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो । सातौँमा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा प्रहरी पहिलो भएको थियो ।
पत्रकार सम्मेलनमा नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर गर्नुभयो ।
प्रतियोगितालाई राखेप, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, विभिन्न कर्पोरेट हाउस र पालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।