• २४ चैत २०८२, मङ्गलबार

शारिरीक अपाङ्गताले छेकेन फुटबलको चाहाना

blog

म्यान अफ दी म्याच छविलाल काला ट्रफी प्रदान गरिँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस १० गते ।
इस्मा गाउँपालिका–१, विपी पार्क खेल मैदानमा १५ वर्षीय छविलाल कालाले प्रर्दशन गरेको उत्कृष्ट खेलले दर्शकको मन निकै जित्यो ।

छैठौं फोर्टिन स्टार कप फुटबल प्रतियोगीतामा काला उपल्लो तम्घास माविबाट प्रतिस्पर्धा गर्नु भएको थियो । उपल्लो तम्घास माविको कक्षा ३ मा अध्ययन गर्ने छविलाल जन्मजात बोल्ने र सुन्ने गर्नु हुन्न । तर लिटिल स्टार बोर्डिङ्ग स्कुलका लागि तीन वटै गोल छविलालले गर्नु भयो ।

गोल गर्न बलले हुँदैन सिप चाहिन्छ । कालाले सङ्केतकै आधारमा मैदानमा देखाएको उत्कृष्टताभित्र अपाङ्गताको झल्को कतै भेटिने थिएन् । अहिलेसम्मको खेल अवधिमा सबैभन्दा धेरै गोल गर्ने काला बन्नु भएको छ । उहाँनै म्यान अफ दी म्याच बन्नु भएको फोर्टिन स्टार युवा क्लबले जनाएको छ ।

छविलाल तीन वर्षदेखि आवासीय रूपमा उपल्लो तम्घास माविको बहिरा स्रोत कक्षामा अध्ययन गर्दै आउनु भएको छ । फुटबलमा निकै रुची भएका काला छोटो समयमै साङ्केतिक भाषा मार्फत हरेक क्षेत्रमा उत्कृष्ट रहेको विद्यालय प्रध्यानाध्यापक मधुप्रसाद गौतमले बताउनु भयो । उहाँले विद्यालयमा प्रशिक्षक नभए पनि अतिरिक्त प्रतियोगीतामा र फुर्सद मिलाएर खेल्दै आएको बताउनु भयो । उपल्लो तम्घास माविमा १७ जना बहिरा विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

सत्यवती गाउँपालिका–५, हँसराको विपन्न परिवारमा जन्मिनु भएका छविलाल चार भाइमध्येका कान्छा छोरा हुनु हुन्छ । आमा देविकलाका अनुसार छविलाल लामो समय नबोलेपछि परिवारले उपचारका लागि अस्पताल चहार्यो । तर कतै बोल्ने र सुन्ने कुराको उपाय भएन् । बाहिर पठाउन सक्ने आर्थिक अवस्था र सचेतना परिवारमा थिएन् । जसका कारण छविलाल विद्यालय जाने लामो उमेर घरमै बिताउन बाध्य भएको देवि कालाले बताउनु भयो ।

घरमा हात भाँचिएका श्रीमान् काजीमान र तीन छोराहरू छन् । काला परिवार उब्जनी नहुने लेकको गाउँ छोडेर हँसरा बसेको छ । अहिले अर्कैको घरमा बसेर अरूकै खेतबारी गरेर जिविकोपार्जन गरिरहेको देवि कालाले बताउनु भयो । फोर्टिन स्टार कप फुटबल काला जस्ता अपाङ्गता भएका र विपन्न विद्यार्थीका लागि प्रतिभा प्रस्फुटन गर्ने गत्तिलो माध्यम बनेको छ । चौथो फोर्टिन स्टार कप फुटबल प्रतियोगीतामा पनि एउटा हात नभएका मालिका माविका विद्यार्थी १७ वर्षीय सन्तोष घर्तीले चर्चा बटुल्नु भएको थियो ।

सन्तोष मालिका मावि मालिका गाउँपालिका–८ का फुटबल डिफेन्डर हुनु हुन्थ्यो । सन्तोषका बुवा खिमबहादुर घर्ती भारतमा इलेक्ट्रिसियनको काम गर्ने भएकाले बुवासँगै काम गर्ने ठाउँमा पुगेका सन्तोषलाई अचानक करेन्ट लागेर हात गुमेको थियो । लामो समय उपचार गरेर ज्यान बच्यो । तर दुर्भाग्यवस केही वर्षपछि बुवाको भारतमै करेन्ट लागेर मृत्यु भयो । सन्तोष आमासँगै गाउँ फर्किएर मालिका माविमा पढ्दै फुटबल खेलमा अगाडि बढ्नु भएको थियो । साथीहरु र शिक्षकको उत्साहले सन्तोष एकै हातमा पनि निकै उत्कृष्ट फुटबल खेल्नु हुन्छ ।

फोर्टिन स्टार युवा क्लबको आयोजनामा पुस ८ गतेदेखि १२ सम्म जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल सञ्चालन भइरहेको छ । १४ विद्यालयले प्रतियोगीतामा सहभागीता जनाएका थिए । विगतका वर्षहरू देखिनै आफुहरूले भिड्न सक्ने क्षमतावाना अपाङ्गता भएका विद्यार्थीलाई खेलमा सहभागी बनाउँदै आएको क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिनु भयो । उहाँले सहरदेखि गाउँसम्म खेलको सम्भावना जगाउँदै छविलाल, सन्तोष जस्ता अपाङ्गता भएका विद्यार्थीको क्षमता प्रदर्शन मात्रै नभएर बिनय बस्नेत जस्ता खेलाडीहरू पनि उत्पादन गर्दै आएको बताउनु भयो ।