• ४ चैत २०८१, सोमबार

‘सबैभन्दा बढी उत्तीर्ण हुने परीक्षा एसइई हो’

blog

 काठमाडौं, चैत  गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षा सबैभन्दा सजिलो परीक्षा रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले अरु कक्षाको तुलनामा कक्षा १० को अध्ययन र यसका प्रश्नपत्र स्तरीय भएको बताउनुभयो ।

उहाँले एसइई परीक्षार्थीलाई नआत्तिकन, धैर्यतापूर्वक एवम् सिर्जनशील भएर परीक्षा दिन सुझाव दिनुभयो । गोरखापत्र अनलाइनका लागि परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग गोरखापत्र अनलाइनका सपना थामीमनोजरत्न शाहीले गर्नुभएको संवाद :

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ चैत ७ गते बिहीबारबाट सुरु हुँदैछ, तयारी कस्तो छ ?

हामीले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी करिब पुरा गर्‍यों। केन्द्रीय तहमा परीक्षा नियन्त्रक कार्यालयले गर्ने सबै कामहरु सम्पन्न गरेको छ । संवाद र समन्वयका कामहरु चाहिँ बाँकी हो । जिल्लास्तरमा पनि प्रश्नपत्र पुगे, उत्तरपुस्तिका पनि केन्द्रहरुमा पुगिसकेको अवस्था छ । अहिले केन्द्राध्यक्षलाई ओरेन्टेसन कार्यक्रमहरु भइराखेको छ । 

कति विद्यार्थीले परीक्षा दिँदैछन् र कति वटा परीक्षा केन्द्र कायम गरिएको छ ?

यस पटक जम्माजम्मी पाँच लाख १४ हजार ७१ विद्यार्थीहरुले परीक्षा दिन गइराखेका छन् । त्यसको लागि दुई हजार ७९ परीक्षा केन्द्रहरु कायम गरिएको छ ।

विदेशबाट कति विद्यार्थीले एसइई दिँदैछन् ?

विदेशमा जापानबाट २९ जना विद्यार्थी हुनुहुन्छ । खासगरी, जापानमा हाम्रो एभरेष्ट स्कुल छ । एभरेष्ट स्कुलमा रहने परीक्षार्थीलाई सोही स्कुलमा केन्द्र कायम गर्ने गरिएको छ । त्यसको समन्वय गर्नुपर्ने कुराहरु नेपालको जापानस्थित एम्बेसीले गर्छ । र हामीले यहाँबाट प्रश्नपत्र अनलाइनमार्फत पठाउँछौं ई–मेलबाट । अन्य प्रकारको उत्तरपुस्तिका पठाउने, केन्द्राध्यक्ष नियुुक्ति गर्ने, यी कामहरु हामीले सम्पादन गरी पठाइसक्यौं ।  

नेपालमा बस्ने विदेशी विद्यार्थीले परीक्षा दिँदैछन् कि ? जेलमा बस्ने विद्यार्थीले परीक्षा दिन के व्यवस्था हुन्छ ?

खासगरी, नेपालका जेलमा पनि विद्यालय छन् केही । ती विद्यालयमा केन्द्र कायम भएको छ । जस्तै, दैलेखमा एउटा केन्द्र छ र काठमाडौंमा एउटा केन्द्र छ । त्यस्तै, बाल सुधारगृह छुट्टै छ भने बाल सुधारगृहमा रहेका बालबालिकाका लागि बाल सुधारगृहमा पनि परीक्षा दिने व्यवस्था छ । त्यो चाहिँ भक्तपुरमा छुट्टै केन्द्रको रुपमा छ भने अन्य जुन उमेर नपुगेका बालबालिका हुन बालसुधार गृहमा बस्नुपर्ने, ती बालबालिकाहरु स्थानान्तरण भएअनुसार नजिकको परीक्षा केन्द्रबाट परीक्षाको व्यवस्थापन हुन्छ । नजिकको परीक्षा केन्द्रबाट परीक्षा लिइदिनका लागि निरीक्षकसहित सुधार गृहमा पुग्नुहुन्छ । त्यस्तै जेलमा पनि विद्यालय छैन, केन्द्र छैन भने र परीक्षार्थीहरु छन् भने नजिकको परीक्षा केन्द्रबाट जेलमा नै पुगेर परीक्षा लिने व्यवस्था गरिएको छ ।  

विदेशी विद्यार्थी नेपालमा छ भने यो हाम्रो नेपालको कोर्सको मात्रै परीक्षा भयो । तर नेपालको कोर्सभन्दा बाहिर विदेशीले नेपालमा बसेर एउटा पेपर मात्र पढ्ने हो, नभए विदेशी विद्यार्थी र विदेशी कोर्सको बारेमा हामीले व्यवस्थापन गर्दैनौं । 

गत वर्षभन्दा यस वर्षको एसइईमा के फरक व्यवस्था छ ?

खासमा, गत वर्षभन्दा यस वर्ष खासै नयाँ व्यवस्था छैन । अघिल्लो जुन लेटर ग्रेडिङ निर्देशिका २०७८ हो, सोही निर्देशिकाको मातहतमा काम हुन्छ । नयाँ व्यवस्था, प्रावधान केही छैन । खास केही निर्णय भएको छैन ।    

परीक्षालाई सुव्यवस्थित बनाउन कति जनशक्ति परिचालन गरिएका छन् ?

खासमा, जनशक्ति विद्यार्थीको सङ्ख्यामा निर्भर रहन्छ । एउटा परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष रहनुहुन्छ । त्यस्तै डेढसय सम्मको लागि एउटा सहायक केन्द्राध्यक्ष हुनुहुन्छ । त्यो भन्दा बढी परीक्षार्थीहरु छन् भने त्यही अनुपातमा दुई जना सहायक केन्द्राअध्यक्षहरु रहने व्यवस्था छ । २० जना परीक्षार्थीका लागि एक जना निरीक्षकको व्यवस्था हुन्छ । त्यस्तै सयजना कर्मचारीलाई एक जना सहायक कर्मचारी हुन्छ । यस आधारमा जनशक्ति तय हुने हो । 

यस पटक होम सेन्टर कायम छन् वा छैनन् ?

होम सेन्टर हाम्रो मनाङ र मुस्ताङमा एउटा–एउटा केन्द्र छ । त्यो ठाउँमा होम सेन्टर कायम रहेको हुन्छ । अन्य जिल्लामा होम सेन्टरको प्रावधान छैन ।  कतिपय जिल्लाले हामीले अलिकति राम्रो गर्छौं, भन्ने हिसाबले केन्द्राध्यक्ष बनाउने व्यवस्था चाहिँ सम्बन्धित विद्यालयको प्रधानाध्यापक हो । यदि यसो नगरी नयाँ प्रकारको केन्द्राध्यक्ष बनाएर अझ व्यवस्थित गराउन सकिन्छ भन्ने कतिपय जिल्लाहरुले सोचेको अवस्था छ । सम्पुर्ण पालिकाहरुले सोचेको अवस्था छ । प्रदेशले पनि, केही पालिकामा नयाँ किसिमको व्यवस्थाहरु लागू गर्न खोज्नुभएको छ, परीक्षालाई व्यवस्थित गर्नका लागि । यस्तो अवस्थामा यदि बाहिरका केन्द्राध्यक्ष जान्छन भने त्यस्तो ठाउँमा होम सेन्टर रहने व्यवस्था छ । जस्तै पर्वतमा यो अवस्था छ । 

गत वर्ष प्रदेशअनुसार प्रश्न छापिएको थियो, यस पटक के कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?

हाम्रो अनिवार्य विषयको सबै प्रदेशअनुसार नै हुन्छ । त्यसबाहेक ऐच्छिक विषयको पनि धेरै परीक्षार्थी रहने विषयहरु जस्तै अङग्रेजी, अकाउण्ट, म्याथ्म्याटिक्स, कम्प्युटर भयो, त्यसलाई चाहिँ हामीले दुई वटा बढी सेटबाट परीक्षा लिन्छौं । 

मर्यादाविपरीत कार्य गर्ने कर्मचारी तथा परीक्षार्थीलाई के कस्तो सजाय हुन्छ ?

परीक्षा भनेको एउटा गोपनीयतासाथ मर्यादित ढङ्गले गरिने गतिविधि हो । मर्यादालाई उल्लङ्घन गर्ने कर्मचारी होस् या शिक्षक । परीक्षार्थीलाई त हामीले निष्कासन नै गर्ने हो । उसको विषय रद्द गर्ने हो । उनीहरुलाई एक वर्ष, दुई वर्षसम्म पनि परीक्षा दिनबाट वञ्चित गर्न सकिने प्रावधानहरु छन् । परीक्षार्थीको हकमा त्यो छ भने कर्मचारी, शिक्षकको हकमा उनीहरुलाई पनि कारवाही हुन्छ, स्पष्टीकरण सोध्ने, ग्रेडवृद्धि, बढुवा रोक्ने यस प्रकारका विभागीय कारवाही हुन्छ ।   

परीक्षा केन्द्र कायम गर्ने सन्दर्भमा आर्थिक चलखेलको चर्चा छ, तपाईको भनाइ के हो ?

खासगरी हामीले अघोषित रुपमा कतिपय जिल्लाको समस्याहरु यस्तो भयो भनेर सुन्छौं, त्यस्तो अवस्थामा फिजिकल्ली, बाहिर देखिने कुरा होइन । यस्तो अवस्थामा कस्तो हुन्छ भने परीक्षा केन्द्र कायम गर्ने एउटा पेचिलो विषय पनि हो । किनकी कुनै अमुख विद्यालयले परीक्षालाई कुनै केन्द्राध्यक्षले मर्यादित रुपमा सञ्चालन गर्‍यो भने त्यसमा आफ्नो विद्यार्थी पठाउन गाह्रो मान्ने पनि कही कतै हामीले सुन्नमा आएको छ ।

सबैभन्दा राम्रा केन्द्रलाई सबैभन्दा नराम्रो छ भनेर त्यहाँ विद्यार्थी पठाउन नसक्ने विद्यालय पनि छन् केही । त्यस्तो आरोप गर्ने पनि प्रचलन छ केही हदसम्म । तथापि, विभिन्न प्रकारको जस्तो पैसाकै कुराभन्दा पनि अन्य प्रकारको अब सेटिङमा पैसा चलाउने, मर्यादालाई उल्लङ्घन गर्ने र यस्तो खालको गतिविधि भयो भन्ने कुरा चाहिँ सुन्नमा आउँछ । त्यो हामीले तथ्यका आधारमा भयो भने त कारवाही भइ नै हाल्छ । तर, हामी समक्ष त्यस्ता प्रकारका तथ्यहरु हामीले आजसम्म फेला पारेका छैनौं ।     

नयाँ शिक्षा संरचनाअनुसार प्रदेश तहमा जानुपर्ने हो तर किन हस्तान्तरण गरिएन ?

बाहिर जुन हाम्रो बुझाइ एउटा छ, जनमानसको बुझाइ चाहिँ यो प्रदेशको परीक्षा हो भन्ने छ । वास्तवमा यो कसरी आएको हो भने पूर्ववत् रुपमा यो सङ्घीयता कार्यान्वयन नहुँदै यो परीक्षा सहजीकरणका लागि क्षेत्रिय शिक्षा निर्देशनालयले प्रदेशस्तरमा समन्वय गथ्र्यो । र अलिकता ठूलो सङ्ख्या भइसकेपछि परीक्षालाई थप मर्यादित गर्न र त्यस्तै, दुर्घटनाबाट बचाउन पनि, जस्तै कुनै ठाउँमा  प्रश्न आउट भयो भने देशभरीको परीक्षा रद्द हुने अवस्था रोक्ने । एउटा उदाहरण, एउटा क्षेत्रिय स्तरमा प्रश्नपत्र बनाउने र सोहीअनुसार क्षेत्रिय स्तरको प्रश्नपत्रबाट परीक्षा लिने प्रचलन चाहिँ सङ्घीयता नआउँदै पनि भएको अवस्था थियो ।

सोहीअनुसार क्षेत्रिय शिक्षा निर्देशनालयका अधिकारहरु प्रदेशको सामाजिक विकास मन्त्रालयमा गए । क्षेत्रिय शिक्षा निर्देशनालयका काम, कर्तव्यहरु प्रदेशको शिक्षा विकास निर्देशनालयले गर्ने भएपछि प्रदेशले गरेका सबै कामहरु निर्देशनालयले गर्ने हो वा प्रदेशले गर्ने हो भन्ने खालको अलिकति एउटा बुझाइ भयो । त्यो अनुसार यो परीक्षालाई प्रदेशस्तरमा सञ्चालन गर्नेगरी व्यवस्था गर्ने कानुनी प्रयत्न पनि गरियो । तर, कुरा कहाँनिर रह्यो भने शिक्षा ऐन संशोधन भएन । शिक्षा ऐनले के भनेको छ भने कक्षा दश र १२ को परीक्षा सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ भन्ने व्यवस्था छ । अन्य जति पनि व्यवस्थाहरु छन्, व्यवस्था चाहिँ राष्ट्रिय परीक्षा बोर्डलाई सहयोग गर्ने परिभाषामा लेखिएका छन् । त्यसैले अन्य संस्थाले आफैंले परीक्षा सञ्चालन गर्ने भन्दा पनि राष्ट्रिय परीक्षा बोर्डलाई सहयोग गर्ने भाष्यबाट कानुनी व्यवस्था भएको हुनाले तत्काल पूर्णरुपले यो परीक्षा प्रदेशस्तरमा हस्तान्तरण गर्न कठिन छ । 

प्रस्तावित शिक्षा विधेयकमा एसइई प्रावधान छैन, यसरी प्रणाली हटाउँदा हाम्रो सिकाइ र गुणस्तरमा असर गर्दैन ? 

खासगरी, अहिलेको प्रस्तावित शिक्षा ऐनमा एसइई परीक्षाको व्यवस्थालाई हटाइएको छ । तर, यसमा संशोधन प्रस्तावहरु पनि प्रशस्त परेका छन् । यो परीक्षा कस्तो रहेछ भने हामीले हेर्यों। यो परीक्षाको लेटर ग्रेडिङअनुसार हामीले परीक्षा लिँदा जुनबेला प्राक्टिकल र थेउरी जोडेर हामीले २० प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नै ग्रेडिङ गर्‍यौं, सबै सर्टिफिकेटमा ग्रेड देखियो । त्यो देख्ने बित्तिकै हाम्रा विद्यालयहरुको पढाइको स्तर खस्केको देखियो र केही हदसम्म हाम्रा विद्यार्थीहरुको सक्षमता पनि घटेको देखियो । अलिकता शैक्षिक सक्षमताहरुमा प्रश्नचिन्ह खडा भयो । त्यसलेगर्दा यो परीक्षा चाहिँ अनिवार्य छ जस्तो महसुस भएको छ ।

मेरो आफ्नो बुझाइमा एकै पटक राष्ट्रियस्तरको परीक्षा वा स्तरीय परीक्षा एकै पटक कक्षा १२ मा वा यानिकी, १५ वर्ष पछिको बालबालिकालाई लिनु भनेको यो त्यति उपयुक्त व्यवस्था हो भन्ने लाग्दैन । त्यसकारणले यो परीक्षा एक प्रकारले भन्ने हो भने अहिलेको केही अर्थमा गुणस्तर धान्नेको परीक्षाको रुपमा परिभाषित गर्न सकिन्छ । कक्षा दशको परीक्षामा जति अध्ययन, अध्यापन अन्य कक्षाहरुमा हुने हो भने हाम्रो गुणस्तर धेरै सुध्रिन्छ भन्ने मलाई लाग्छ । त्यसैले, कम्तिमा हाम्रो एउटा कक्षाको परीक्षाले शिक्षण सिकाइमा मौलिकरुपमा बढी असर गर्छ  । यो परीक्षा हटाउन हुँदैन । मेरो भनाइ चाहिँ यहाँनेर छ । 

आउने वर्षदेखि कक्षा ९ मा रजिस्ट्रेसन शुल्क नलाग्ने भनिएको छ, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन भएको सन्दर्भमा परीक्षा, पुनर्योग, मूल प्रमाणपत्र लगायत पनि निःशुल्क हुनुपर्ने होइन ?

खासगरी, हाम्रो संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेर घोषणा गरिदिएको छ । हाम्रो निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ जारी भएको अवस्था छ । ती सबै डकुमेन्टले के भन्छन् भने हाम्रा विद्यार्थीले पढ्न, प्रमाणपत्र निःशुल्क पाउनुपर्छ भनेको छ । त्यसअर्थमा परीक्षाका लागि रजिस्ट्रेसन हुन, परीक्षा आवेदन फाराम भर्न, त्यसबाट उत्पादित शैक्षिक प्रमाणपत्र प्राप्त गर्न निःशुल्क हुनुपर्छ, कानुनत: जुन व्यवस्था छ, राज्यको क्षमताको विषय हुन सक्ला त्यो केही हदसम्म । कहिले र कतिखेर कार्यान्वयन होला भन्ने विषयचाहिँ हाम्रो आन्तरिक सक्षमता र हाम्रो पुँजीको कुरा रह्यो । तर, पनि कानुनत आएको विषय अनिवार्यरुपमा कार्यान्वयन हुनुपर्छ । र यो निःशुल्क हुनुपर्छ । यो पटक पनि हामीले रजिस्ट्रेसन खोल्न ढिलोे गर्‍यौं। अहिलेसम्म पनि हामीले रजिस्ट्रेसन खोलेका छैनौं । पहिलो कुरा आवेदन फाराम नै ढिलो खोल्यौं । किनकी, त्यो पनि निःशुल्क हुन्छकि भनेर छलफल भयो एकचरण शिक्षा मन्त्रालयमा । यो अर्थ मन्त्रालयसँग पनि छलफल भयो । तर, यो पटक चाहिँ यो सम्भव भएन । सम्भव नभए पनि फेरि पुरानै व्यवस्थाअनुसार विद्यार्थीको आवेदन गर्ने काम भयो । 

त्यस्तै गरेर नौ कक्षाको पनि हामीले रजिस्ट्रेसन खोल्ने कुरा गरेका छौं । त्यसको लागि पनि अहिलेसम्म निःशुल्क गर्ने निर्णय आइसकेको अवस्था छैन । त्यसैले होला, यो चर्चा अगाडि बढेको छ । निःशुल्क गर्ने मनसाय अगाडि बढेको छ । यो पटक आर्थिक वर्षको सुरुमा नै सबै परीक्षाको ओभरअल क्यालेण्डर बनायौं । त्यो क्यालेण्डर अनुसार काम गरेका छौं । त्यहीअनुसार माघ १ गते परीक्षाको लागि समयतालिका प्रकाशन गर्‍यौं। चैत ७ गते परीक्षा भन्यौं, हामीले सुरुबाटै भनेका हौं यो । असार ७ गतेभित्र नतिजा प्रकाशन गर्ने कार्ययोजना छ । 

अभिभावक, विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मीलाई के सुझाव दिन चाहनु हुन्छ ? 

के भन्न चाहन्छु भने परीक्षासँग सरोकार राख्ने महानुभावहरुमा, साँच्चिकै भन्ने हो भने सबै परीक्षाभन्दा सजिलो परीक्षा कक्षा १० को परीक्षा हो ।  किनभने, अन्य परीक्षामा साधन स्तरीय हुँदैनन् । विद्यार्थीले कतिपय जानेका कुरा लेख्न पाउँदैनन् । अनावश्यक कुराहरु पनि सोधिएको पनि हुन सक्छ । तर, यसमा धेरै सन्तुलन गरेर विद्यार्थीका सिकाइ, उपलब्धिहरु मापन गर्नेगरी प्रश्नपत्र निर्माण भएको हुन्छ । त्यसैले विद्यार्थीको जुन तह छ, उनीहरुको क्षमताअनुसार परीक्षा दिन पाउने हुनाले सबैभन्दा सजिलो परीक्षा र सबैभन्दा बढी पास हुने परीक्षा पनि एसइई हो । सबैभन्दा बढी विषयमा उत्तीर्ण भएको कक्षा पनि कक्षा १० हो । किनभने, कक्षा  मा गयो भने पनि धेरै विषय फेल भएको हुन्छ । त्यस्तै १  देखि नौसम्म हेर्यों भने नौमा पनि धेरै विषय लागेको हुन्छ । ११ हेर्यों भने पनि धेरै विषय लागेको हुन्छ तर, हामीले प्रमाणपत्र दिएका हुन्छौं । 

त्यसको तुलनामा कक्षा १० को नतिजा तुलना गर्ने हो भने यसको त जस्ताको तस्तै नतिजा आउने भयो । जस्ताको तसतै नतिजा आउँदा विद्यार्थीहरु धेरै फेलर देखिने भए । तथापि, अरु कक्षाको भन्दा यो राम्रो नतिजा आउँछ । त्यसैले कोही कसैलाई पनि नआत्तिन, यस विषयमा धैर्यतापूर्वक यो परीक्षामा सामना गर्न र मेरा आफ्ना विद्यार्थी भाइबहिनीलाई मेरो आग्रह छ, आफूमा भएको जति पनि सक्षमता छन्, निर्भीक भएर कापीमा उतार्नुभयो भने तपाई पास हुनुहुन्छ । यहाँ फेल हुने भन्ने गुन्जायस नै हुँदैन । 

किनभने, हामीले तुलना गर्दा ६५ र ३५ हो नि त, ६५ भनेको त धेरै ठुलो सङ्ख्या हो । ६५ गल्ति गर्दा पनि पास भइन्छ नि । ६५ गल्ति गर्दा पनि ग्रेडेड हुन्छौं भने ३५ त जान्न पर्‍यो नि त । त्यो जानिएको हुन्छ । अलिकति हतासिएर, आत्तिएर, अरुको सहयोग खोजेर कतिपय विद्यार्थी भाइबहिनीहरु बिग्रनुभएको हुन्छ, आफूले जे जस्तो जानेको हुन्छ, त्योे राम्ररी प्रस्तुत गर्ने हो भने दश कक्षाको परीक्षामा फेल भइँदैन । ग्रेड नआउने भन्ने हुँदैन । त्यसैले, सबै भाइबहिनीहरुलाई निर्भीकतापूर्वक यो परीक्षामा समावेश हुन, नआत्तिकन यो असाध्यै सजिलो परीक्षा हो, सजिलोसँग उत्तीर्ण हुनुहुन्छ यही शुभकामना दिन चाहन्छु ।

अभिभावकज्युहरुमा पनि आफ्ना छोराछोरीहरुलाई अलिकता सम्झाउने परीक्षा भनेको शिक्षण सिकाइको एउटा अङ्ग हो । यसबाट आफ्नो क्षमताको मापन हुन्छ । त्यसबाट अगाडि कसरी जाने भन्ने मार्गनिर्देशन हुन्छ । राम्रो छ भने अझै राम्रो कसरी गर्ने । अलिकति कमजोरी देखियो भने सुधार कसरी गर्ने । किनभने, अहिले नै १० कक्षाको बालबालिका पूर्ण जीवनको लागि तयार भइसकेको छैन नि त । पूर्ण जीवनको तयारी गर्न धेरै कुरा बाँकी छ । त्यसैले अहिले आफ्ना कमजोरीहरु पत्ता लगाउन सकियो भने पनि हामीले हाम्रो पूर्ण जीवनको तयारीलाई मद्दत पुग्ने हुनाले हाम्रा छोराछोरीलाई पनि सोहीअनुसार सम्झाउने प्रयत्न गर्नुपर्छ । समाजका अन्य शिक्षाप्रेमी महानुभावले पनि परीक्षालाई असाध्यै सकारात्मक ढङ्गले लिएर सकारात्मक पाटालाई उजागर गर्दै भाइबहिनीलाई उत्साहित गर्नुुपर्छ । अभिभावकलाई उत्साहित गर्नुपर्छ भन्ने लाग्छ । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।