• २ चैत २०८१, शनिबार

क्षितिजलाई फ्रिस्टाइल चेस उपाधि

blog

चेसमा उपाधि विजेता खेलाडी ।

काठमार्डौँ, चैत २ गते । ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जित्नुभएको छ । शुक्रबार अबेर सम्पन्न फाइनलमा क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई हराउँदै क्षितीज च्याम्पियन बन्नुभएको हो । 

‘बेस्ट अफ थ्री’ को आधारमा खेलाईएको प्रतियोगिताको फाइनलमा क्षितीजले सुरुवाती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पार्नुभएको थियो । 

पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेस प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ । यसमा उपाधि विजेता क्षितीजले २५ हजार र उपविजेता मिलनले ९ हजार ६ सय रुपियाँ पुरस्कार पाउनुभयो । 

एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपियाँ पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले  जित्नुभयो । 

स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७.५ अङ्क जोडेर राजनले पहिलो स्थान हात पार्नुभएको हो ।  समान ७.५ अङ्क बटुल्न सफल नरसिंह श्रेष्ठ टाइब्रेकर पछि पर्दै दोस्रो हुनुभयो । अभिक शाह तेस्रोमा रहे । हुनुभयो । विजेता राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

१६ स्पर्धासमावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जित्नुभयो । यस्तै यू–८ छात्रामा रुबेश्री चौलागाइँ, यू–१२ मा निहाना श्रेष्ठ, यू–१४ मा नायुमा मगर र यू–१६ मा प्रज्ञा पन्त पहिलो हुनुभयो । 

छात्रतर्फ यू–८ मा शुभांग प्रधान, यू–१० मा अभियान राई, यू–१२ मा दीपन मैनाली, यू–१४ मा प्रवीर केसी र यू–१६ मा अनमोल राई पहिलो हुनुभयो । यस्तै फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिनुभयो । प्रतियोगितामा ५० खेलाडी सहभागी थिए ।

हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ, जसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर–२०२४ अवार्ड जित्नुभएको छ । एकेडेमीले स्थापनको एक वर्षमा सात प्रतियोगिता आयोजना गरेको पनि जनाएको छ ।