गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १ गते । वाणिज्य बैङ्कले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । फागुन महिनाको तुलनामा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपतर्फ औसत अधिकतम ब्याजदरमा कमी आएको हो ।
बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर फागुनको तुलनामा घटेको छ ।
फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.५६ प्रतिशत रहेकोमा चैत महिनाका लागि घटेर ४.४९ प्रतिशतमा झरेको छ । समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो ।
यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत अधिकतम ब्याजदरमा गिरावट आएको छ । फागुनमा ३.३३ प्रतिशत रहेको यस्तो ब्याजदर चैतमा घटेर ३.२९ प्रतिशत कायम भएको छ । यसरी संस्थागत निक्षेपमा औसत ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये छ बैङ्कले चैत महिनाका लागि ब्याजदर घटाएका छन् भने १४ बैङ्कले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क नेपाल बैङ्क लिमिटेड रहेको छ । सो बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको हो । यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड, कुमारी बैङ्क, कृषि विकास बैङ्क, प्राइम कमर्सियल बैङ्क र ग्लोबल आइएमई बैङ्कले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा तरलता बढ्दै जाँदा पछिल्ला महिनामा निक्षेपको ब्याजदर क्रमशः घट्दै गएको छ ।