• १ चैत २०८२, आइतबार

ग्यास अभावले होटेल व्यवसाय सङ्कटमा

blog

बर्दीबासस्थित बस्नेत सप्लायर्समा थुप्रिँदै गएका खाली ग्यासका सिलिन्डर । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १ गते  । मध्यपूर्वको देश इरानमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएसँगै देशव्यापी बनेको खाना पकाउने ग्यासको अभाव महोत्तरीमा पनि देखा परेको छ । ग्यासको आपूर्ति सहज हुन नसकेपछि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिन भन्दै हाललाई आधा सिलिन्डर ग्यास मात्र वितरण गर्ने नीति अघि सारेपछि सर्वसाधारणसँगै व्यवसायी पनि मारमा पर्न थालेको गुनासो बढेको छ । 

ग्यास अभावको सबैभन्दा ठुलो असर यहाँको होटेल तथा पर्यटन व्यवसायमा परेको छ । विशेष गरी महोत्तरीको मुख्य व्यापारिक केन्द्र बर्दीबासमा रहेका होटेलहरू ग्यास अभावले थला पर्ने अवस्थामा पुगेको व्यवसायीले जनाएका छन् । 

होटेल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीका अनुसार बर्दीबास क्षेत्रमा हाल साना–ठुला गरी करिब एक सयभन्दा बढी होटेल सञ्चालनमा छन् । यी होटेललाई सुचारु राख्न दैनिक ७० देखि ८० सिलिन्डर ग्यासको आवश्यकता पर्छ । “बजारमा पर्याप्त ग्यास पाइँदैन, पाइहाले पनि आधा सिलिन्डरले व्यवसाय धान्न गाह्रो छ । अवस्था सहज नभए केही दिनभित्रै बर्दीबासका होटेलहरू बन्द गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो । 

बर्दीबासस्थित खुकुरी होटेलका सञ्चालक विनोद थापाका अनुसार ग्यास अभावले यहाँको होटेल व्यवसाय तथा पर्यटन क्षेत्रलाई धक्का लागेको छ । बर्दीबास पूर्वपश्चिम राजमार्गको सङ्गमस्थल भएकाले यहाँका होटेलमा यात्रु र पर्यटकको ठुलो चाप हुने गर्छ । ग्यास अभावले खाना खुवाउन नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने र व्यवसायी ठुलो आर्थिक नोक्सानीमा पर्ने उहाँले बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “राज्यले आधा मात्र दिन थालेपछि हामी गरी खाने कि दिनभर ग्यास ढुवानीमा लाग्ने ?” 

नेपाल आयल निगम र सरकारले ग्यास आपूर्तिको वैकल्पिक व्यवस्था नगरे वा मौज्दात रहेको ग्यासको न्यायोचित वितरण नगरे यो समस्या अझै भयावह हुने बर्दीबासस्थित क्राउन होटेलका सञ्चालक सन्तोष श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । बजारमा ग्यासको माग अचानक बढेपछि ग्यास डिलरले भने यसलाई ‘कृत्रिम अभाव’ को संज्ञा दिएका छन् ।

डिलरका अनुसार युद्धको त्रासले गर्दा सर्वसाधारण र ठुला उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्न थालेपछि अभाव देखिएको हो । बर्दीबासस्थित एलपी ग्यास सङ्घका अध्यक्ष सरोज श्रेष्ठले भन्नुभयो, “एकातिर आपूर्तिमा आएको कमीले अभाव सिर्जना गरेको छ । अर्कोतिर उपभोक्ताले घरमा ग्यास थुपार्न थालेकाले यो समस्या थप बढेको छ ।” उहाँका अनुसार ग्यास आपूर्ति गर्ने कम्पनीका छ वटा डिलर रहेको बर्दीबास महोत्तरीकै सबैभन्दा बढी ग्यास खपत हुने बजार हो । बर्दीबासस्थित राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष दीपेन्द्र पराजुलीले ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ । ग्यास अभाव लम्बिँदै गए होटेल तथा पर्यटन व्यवसाय मात्र होइन, सर्वसाधारणको दैनिक जीवन पनि प्रभावित हुने देखिएकाले सम्बद्ध निकाय गम्भीर हुनैपर्ने उहाँले बताउनुभयो । “निगमले बजारमा सीमित ग्यास वितरण गर्दै उपभोक्तालाई आधा सिलिन्डर मात्र उपलब्ध गराउने नीतिमाथि पुर्नविचार गरी आपूर्ति सहज बनाउनु पर्छ,” उहाँले भन्नुभयो । 

इन्धन आपूर्तिमा आएको अनिश्चिततासँगै खाना पकाउने ग्यास (एलपिजी) को अभाव बढ्दै गएपछि प्रशासन कार्यालयले बर्दीबासलगायत जिल्लाभरका प्रमुख बजारमा अनुगमन सुरु गरेको छ ।