गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १ गते । नेपालमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न विश्वासको वातावरण, नीतिगत स्थायित्व र कानुनी स्पष्टता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२ औँ महाधिवेशन तथा ग्लोबल कन्फ्रेन्स अन्तर्गत राजधानीमा आयोजित ‘रोडम्याप टु इनभेस्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ विषयक पहिलो सत्रमा वक्ताले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा लगानी बोर्डका सिइओ सुशील ज्ञवालीले नेपालमा विश्वासको कमी, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताउनुभयो ।
स्थिर सरकार गठन हुन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने उहाँको जोड थियो । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको उहाँको भनाइ थियो । नेपाल धितोपत्र बोर्ड र अन्य ऐनको हकमा अगाडि बढ्न जरुरी रहेको बताउँदै उहाँले यसमा लगानी बोर्डले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा उद्यमशीलताको ठुलो सम्भावना रहेको भन्दै लगानी भित्र्याउने नीतिगत सुधार गर्न निजी क्षेत्रले प्रवासी नेपालीसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । एनआरएनले गरेको व्यवसायको केही अंश नेपालको सम्भावना भएको ठाउँमा लगानी गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “जलविद्युत्, पर्यटन, प्रविधिमा ठुलो सम्भावना छ, सहकार्य गरौँ ।”
नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा कसरी जोड्न सकिन्छ भन्ने मुख्य विषय भएको बताउनुभयो । लगानी भावनात्मक सम्बन्धले नहुने भन्दै उहाँले सुरक्षित वातावरण, बजारको आवश्यकता रहेको बताउनुभयो ।
लगानी अभिवृद्धि गर्न नेपालप्रति आशा, भरोसा विश्वासको वातावरण कायम गराउनुपर्ने भएकाले यसका लागि भ्रष्टाचार सूचकमा सुधार आउनुपर्ने खरेलको धारणा थियो ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक रूपेश केसीले एनआरएन डेभलपमेन्ट फन्डबारे ब्रिफिङ गर्दै धितोपत्र बोर्डमा गैरआवासीय नेपालीको सहभागिताका जटिलता र गर्नुपर्ने कानुनी सुधारबारे जानकारी गराउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका तर्फका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिँदै गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको बताउनुभयो । नवीन वित्तीय कोष, रणनीतिक लगानी क्षेत्र, पर्यटन तथा आतिथ्य उद्योग, ज्ञान हस्तान्तरण र उद्यमशीलतामा उहाँको जोड थियो ।
नेपाल उद्योग परिसङ्घ (सिएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई एक खर्ब डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताउनुभयो ।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशका लागि भन्दा आफ्नो भावी सन्ततिका लागि भनेर लगानी गर्न सुझाव दिँदै सन्ततिलाई एनआरएनएसँग जोड्न आग्रह गर्नुभयो ।