गुणबहादुर रोका
सुलीकोट, चैत १ गते । गोरखामा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट तल खसेको थियो । त्यसमा सवारमध्ये पाँच पुरुष र दुई महिला गरी सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइतेलाई उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार घटनापछि प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । माइक्रोबसमा कति जना थिए भन्ने अझै यकिन नभएको र साँझ भएकाले उद्धार कार्य जारी रहेको छ । मृतक सबै भारतीय नागरिक रहेका छन् । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।