• ३० फागुन २०८२, शनिबार

केपीएल : बाहिरिए एसपीए र हिमालयन

blog

ब्याटिङ गर्दै युनाइटेड भिजनका खेलाडी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन ३० गते । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताबाट दुई वटा टिम बाहिरिएका छन् ।

लगातार दुई खेलमा हार व्यहोरेसँगै एसपीए कलेज धनगढी र हिमालयन क्रिकेट एकेडेमी प्रतियोगिताबाटै बाहिरिएका हुन् । 

तेस्रो दिन शनिबार युनाइटेड भिजन क्रिकेट क्लबसँगको हार व्यहोरेसँगै एसपीए कलेज धनगढी र न्यू होराइन स्पोर्टस् क्लबसँगको हारसँगै हिमालयन क्रिकेट एकेडेमी प्रतियोगिताबाटै बाहिरिएका छन् । 

प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले एसपीए कलेज धनगढीलाई हरायो । पहिला टस जितेर ब्याटिङ रोजेको एसपीए कलेज धनगढीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । 

टिमका लागि शंकर बोहराले २९ बलमा सर्वाधिक ३५ रन बनाउनुभयो भने अयुव चन्दले २६ बलमा २८ रन र सागर साउदले ३४ बलमा २२ बनाएका थिए । अन्य ब्याटरहरूले भने दोहोरो अंक जोड्न सकेनन् । 

बलिङतर्फ युनाइटेड भिजन क्रिकेट क्लबका लागि सन्तोष यादव र दिनेश अधिकारीले समान ३÷३ विकेट लिनुभयो भने आकाश चन्दले १ विकेट लिनुभयो ।

एसपीए कलेज धनगढीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले १४ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य भेटायो । कप्तान देव खनालको आक्रामक ओपनिङसँगै युनाइटेड भिजन ४ विकेटले विजयी भएको हो ।

टिमका लागि दिनेश बोहराले अविजित १६ बलमा सार्वधिक २७ रन बनाउनुभयो । यस्तै कप्तान देव खनालले १६ बलमा ३१ रन बनाउनुभयो भने दिनेश अधिकारी १७ बलमा २६ बनाउनुभएको थियो ।

बलिङतर्फ एसपीए कलेजका लागि आयुव चन्द र निराज ऐरले समान २/२ विकेट लिनुभयो । अन्य बलरहरू भने युनाइटेड भिजनका ब्याटरसामु कमजोर सावित हुनुभयो  । प्रतियोगितामा युनाइटेड भिजनलाई विजयी गराउन महत्त्वपूर्ण ३ विकेट लिनुभएका दिनेश अधिकारी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।

हिमालयन क्रिकेट एकेडेमीले पहिला टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङको निम्तो पाएको न्यू होराइनज स्पोर्टस क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

न्यू होराइजनका लागि ओपनर अमर मिश्र र आरिफ खानको अर्धशतकले प्रतियोगिताकै सबैभन्दा धेरै स्कोर बनाउने टिम बन्यो । आरिफ खानले ४९ बलमा ७८ रन, अमर मिश्र ३५ बलमा ५९ रन र दिलसद अलीले अविजित १७ बलमा ३० रन बनाउनुभयो । 

बलिङतर्फ हिमालय क्रिकेट एकेडेमीका अनिश धामीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिनुभयो भने दिनेश विष्टले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिनुभयो । अन्य बलरहरु भने न्यू होराइजनका ब्याटरसामु कमजोर सावित हुनुभयो । 

न्यू होराइजनले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीले १७.१ ओभरमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो । टिमका लागि खडक बोहोराले २४ बलमा सर्वाधिक ३३ रन, इमरान खानले २३ बलमा २६ रन र दिनेश विष्टले ९ बलमा २१ रन बनाउनुभयो । अन्य ब्याटरहरुले भने दोहोरो अंक जोड्न सक्नुभएन । 

बलिङतर्फ न्यू होराइजनका अमर मिश्रले ३.१ ओभरमा २० रन खर्चेर महत्वपूर्ण ५ विकेट लिनुभयो । यस्तै निस्चल ज्ञवाली, निर्मल गुरुङ, कुशल मल्ल, बासिर अहमद र सुरज खड्काले समान १/१ विकेट लिनुभयो । टिमलाई विजय गराउन अलराउण्डर प्रर्दशन गरेर अर्धशतक प्रहारसँगै बलिङमा ५ विकेट लिएर अमर मिश्र ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । 

यो सँगै सेमिफाइनल प्रवेश गर्ने चार टोलीको टुंगो लागेको छ । ग्रुप ‘ए’बाट युनाइटेड भिजन क्रिकेट क्लब र ब्राइटल्याण्ड स्कुल नेपालगन्ज रहेका छन् । यस्तै ग्रुप ‘बी’बाट भने कोहलपुर स्पोर्टस एकेडेमी र न्यू होराइजन स्पोर्टस क्लब रहेका छन् ।