राधा लुइटेल
फिदिम, चैत २ गते। पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम हुनुभएको छ। प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार राशि नगदसहित प्रतियोगितामा पहिलो स्थानको पुरस्कार पाउनुभएको हो।
यस्तै उदयपुरका जीवन आरोहिले दोस्रो र तेह्रथुमका भगिश्वर तेयुङले तेस्रो स्थान सुरक्षित गर्नुभएको छ। प्रतियोगितामा दोस्रो हुनेलाई नगद २५ हजार र तेस्रोलाई १२ हजार पाँच सय रुपियाँ नगदसहित पुरस्कृत गरियो।
प्रथम ऐतिहासिक तुम्बेवा महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पहिलो चरणमा प्राप्त भएका एक सय ३१ मध्ये छनाेटमा परेका २१ जना कवि कविता वाचनमा सहभागी थिए। प्रतियोगिता कोर्काली अध्ययन केन्द्रले आयोजना गरेकाे थियो।
निर्णायकको भूमिका डा. रमेश शभेच्छु र स्रष्टाद्वय मुनाराज शेर्मा र सुमित्रा वाङ्देल (चेली) ले निर्वाह गर्नुभएको थियो।