• २ चैत २०८१, शनिबार

वार्षिक तीन बाली भित्र्याउँदै किसान

blog

डीप बोरीङ सञ्चालनमा आएपछि तुलसीपुर –१८ मनिकापुरमा फलेको गहुँ । तस्बिरः गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, चैत २ गते । तुलसीपुर उपमहानगरपालिका –१८ मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्ष पहिले मुस्किलले खेतबाट एक बाली मात्र भित्र्याउनु हुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने हुमाकुमारी अहिले तीन बालीसम्म भित्र्याउने अवस्थामा हुनुहुन्छ । 

२०७९ सालमा दाङ बृहत सिँचाइ आयोजनामार्फत् गाउँमा जमिनमुनीबाट पानी निकाल्न डीप बोरिङ खनेपछि हुमाकुमारीजस्तै गाउँका किसानले सहजै बाली उत्पादन गर्न थालेका छन् । 

करिब ३० बिघा क्षेत्रफलमा सिँचाइ हुँदैआएको एकीकृत जल उपभोक्ता संस्था तुलसीपुर –१८ अध्यक्ष दामोदर बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो, “सिँचाइ नहुँदा वर्षायाममा धान बाली उत्पादन गर्न पनि मुस्किल हुन्थ्यो, अहिले त हिउँदमा पनि गाउँघर हरियाली देखिएको छ, यो सबै  बाह्रै महिना खेतबारीमा सिँचाइ भएपछि सम्भव भएको हो ।” 

किसानले बाह्रै महिना पानी भएपछि समयमै धानको ब्याड राख्न पाउँदा यस क्षेत्रमा हिउँदेबाली मात्र होइन, वर्षायाममा धान उत्पादनमा समेत बृद्धि भएको हुमाकुमारी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले आठ कठ्ठा खेतमा मुस्किलले २०–२५ मुरी धान फल्थ्यो, अहिले सिँचाइ सुविधा भएपछि ४० मुरीसम्म धान फल्छ । पहिले एक बाली मात्र हुन्थ्यो, हिउँदमा गहुँ छर्न पानी हुँदैनथ्यो, खानका लागि गहुँ किन्नुपथ्र्यो, अब त गहुँ घरमा खान पुगेर पनि बिक्री गर्नेसमेत हुन्छ ।”  

बृहत दाङ उपत्यका सिँचाई आयोजनाका प्रमुख टोपबहादुर खत्रीका अनुसार जिल्लाको खेतीयोग्य ५६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगाउन आयोजनामार्फत् ३५ वटा जलाशय निर्माण भइसकेको र ६३ वटा डीपबोरिङ खनिएको बताउनुभयो । खत्रीकाअनुसार आयोजना सम्पन्न गर्न ४० अर्ब बजेट आवश्यक पर्ने भए पनि हालसम्म दुई अर्ब  रकम खर्च भएको बताउनुभयो । 

खत्रीकाअनुसार आयोजना सुरु भएपछि जिल्लामा किसानले बेमौसमी तरकारी खेती, बाह्र महिना मकै खेती सुरु गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका –१९ मा रहेको झारी भर्ने चमई सोता जल उपभोक्ता संस्थाका अध्यक्ष दुर्गाबहादुर खत्रीले आयोजनामार्फत् परम्परागत सिँचाइ कुलोको सुधार गरी किसानलाई वर्षमा तीन बाली भित्र्याउन आधुनिक सिँचाइ निर्माण गरिएको बताउनुभयो । खत्रीका अनुसार कुलो निर्माणपछि करिब ६० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा सहज भएको छ ।