राधाकृष्ण डुम्रे
वालिङ, चैत २ गते । बुटवल पावर कम्पनी (बिपिसी), आँधीखोला जलविद्युत् केन्द्रबाट उत्पादन भएको विद्युतको महसुलमा वृद्धि भएको छ ।
अब उपभोक्ताहरूले बढेको मुल्यका आधारमा महसुल बुझाउनु पर्ने छ । विद्युत् नियमन आयोगले बिपिसीले गरेको प्रस्तावको आधारमा उपभोक्ताको विद्युत् महसुलमा पुनरावलोकन गरेको जनाएको छ ।
आयोगले प्रकाशित गरेको सूचना अनुसार महसुलमा भारी वृद्धि गरिएको हो । सामान्य उपभोक्ता मूल्यमा सामान्य वृद्धि गरिएको भए पनि व्यवसाय तथा उद्योगहरूका लागि झण्डै सतप्रतिशत वृद्धि गरिएको छ ।
गएको वैशाखमा आयोगले कायम गरेको मूल्यमा केही घटाएर नयाँ उपभोक्ता महसुल सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । उपभोक्ताहरुले २०८२ वैशाख महिनाको खपत र २०८२ जेष्ठ महिनाको बिलिङ्बाट लागु हुने गरी बढेको महसुल तिर्नु पर्ने आयोगले जनाएको छ ।
कति बढ्यो महसुल ?
५,१५,३० र ६० एम्पियर विद्युत् प्रयोग गर्दै आएका उपभोक्ताले फरक फरक महसुल तिर्नुपर्ने छ । २० युनिट सम्म २० रुपियाँ आधार मूल्य तिर्दै आएका उपभोक्ताले अब ३० रुपियाँ तिर्नु पर्नेछ ।
यो ५ एम्पियरको विद्युत् उपभोगमा हो । प्रति युनिट २ रुपियाँ तिर्दै आएका उपभोक्ताले दुई रुपियाँ ८० पैसा तिनु पर्नेछ । २० युनि सम्म सामान्य बृद्धि भएको भए पनि योभन्दा अन्य उपभोक्ताका लागि अत्यधिक वृद्धि गरिएको छ ।
५ एम्पियरको विद्युत् जडान गरेका उपभोक्ताले २५० युनिटमाथि खपत गर्दा आधार दर ८० तिर्दै आएका थिए भने अब १५० तिर्नु पर्ने छ । यस्तै ७ रुपियाँ तिर्ने उपभोक्ताले ९ रुपियाँ ६० पैसा तिर्नु पर्ने छ ।
प्राय सबै घरमा ५ र १५ एम्पियरको विद्युत् जडान रहेको आँधीखोला जलविद्युत् केन्द्रले जनाएको छ । १५ एम्पियरमा ३० देखि ८० रुपियाँसम्म आधार दरमा पैसा तिर्दै आएको उपभोक्ताले अब ५० देखि १७५ रुपियाँसम्म तिर्नुपर्ने भएको छ । यस्तै प्रति युनिट दुई रुपियाँ ६० पैसा देखि ७ रुपियाँ तिर्दै आएका उपभोक्ताले अव ३ रुपियाँ ६० पैसा देखि ९ रुपियाँ ६० पैसासम्म तिर्नुपर्ने छ ।
आयोगले निकालेको सूचना अनुसार खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा समेत महसुल वृद्धि गरिएको छ । विद्युतीय गाडीको चार्चिङ स्टेसनका लागि दिउँसोमा भारी मुल्य वृद्धि गरिएको छ भने रातिको समयलाई सामान्य महसुल कायम गरिएको छ ।
उपभोक्ताको दबाबपछि महसुलमा पुनरावलोकन
विद्युत् नियमन आयोगले २०८१ वैशाख १७ गते महसुल वृद्धि गरेको थियो । यस क्षेत्रका उपभोक्ताहरूको निरन्तरको आन्दोलन र दबाब पछि नियमन आयोगले महसुलमा पुनरावलोकन गरेको हो । गएको वैशाखमा बढाएको मूल्यमा केही कम गरेर नयाँ सूचना प्रकाशन गरेको हो ।
कम्पनीले स्याङ्जाको गल्याङमा रहेको आँधीखोला जलविद्युत् केन्द्र मार्फत ३५ हजार भन्दा बढि ग्राहकलाई ५ रुपियाँ ८० पैसामा प्रतियुनिट विद्युत् बिक्री गर्दै आएको छ ।
सञ्चालन, मर्मतसम्भार खर्च बढि भएको भन्दै कम्पनीले आयोग मार्फत प्रतियुनिट ११ रुपियाँ महसुल प्रश्ताव गरेको थियो । केन्द्र मार्फत ९ दशमलब ४ मेगावाटको विद्युत् वितरण गर्दै आएको छ ।
प्रभावित क्षेत्रका पालिकाहरूको सक्रियतामा गठन भएको विद्युत् महसुल घटाउने सङ्घर्ष समीतिका संयोजक नेत्र प्रसाद पाण्डेले नयाँ कायम भएको महसुलको अध्ययन पछि निर्णय नलिइने जानकारी गराउनुभयो । आयोगले बढाएको महसुलको अध्ययन जारी छ, यसपछि अब के गर्ने भन्नेमा छलफल गर्छाैं संयोजक पाण्डेले भन्नुभयो ।