अमृतप्रसाद पौडेल
म्याग्दी, चैत २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापनलाई गण्डकी प्रदेश सरकारले उच्च प्रथामिकतामा राखेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोग तथा पश्चिम पृतना हेडक्वाटर पोखराको निर्देशनमा २३ नम्बर बाहिरी अड्डा बागलुङबाट मङ्गला गाउँपालिका–२ लाम्पाटामा सञ्चालित प्रदेशस्तरीय संयुक्त बृहत् विपद् प्रतिकार्य नमुना अभ्यास दुई २०८१ मा सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो ।
गण्डकी प्रदेश विपदका हिसाबले उच्च जोखिम रहेको क्षेत्र भएकाले यस क्षेत्रमा विपद्सम्बन्धी अभ्यास हुँदा विपद्को सामना गर्न जनताहरू सक्षम हुने बताउनुभयो । उहाँले सबै सुरक्षा निकायको सहभागिताले विपदका उद्धार तथा राहत लगायतका काम गर्न सजिलो हुने भएकाले यस्ता अभ्यास हुनुपर्ने उहाँको धारणा छ ।
विपदका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिमा विषेश सचेतना हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेशमा बाढीपहिरो तथा हिमपहिरोको उच्च जोखिम हुने र अगालागी पनि प्रमुख समस्याकै रूपमा भएकाले स्थानीय जनप्रतिनिधिहरु यसतर्फ सचेत रहनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली सेनाको अगुवाइमा भएको यस्तो अभ्यासले स्थानीय जनतामा विपदको समयमा विपद्को सामना गर्ने शक्ति र आत्मबल बढ्ने भएकाले यस्तो अभ्यास आवश्यक रहने उहाँको तर्क थियो । प्रदेश सरकार विपदलाई प्रथामिकतामा राखेर त्यसका लागि आवश्यक पर्ने बजेटको पनि व्यावस्थापन गर्ने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पश्चिम पृतनापति उपरथी मधुकरसिंह कार्कीले बिपत्तीको समयमा आफ्नो व्यक्तिगत स्वास्र्थभन्दा पनि देशको हितका लागि सेनाले अगुवाइ गर्ने बताउनुभएको थियो । सबैको सहकार्यमा विपद् प्रतिकार्य अभ्यास भएको र यस्ता कार्यले जनताको आत्मबल बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा २३ नम्बर बाहिनी बागलुङका बाहिनीपति सहायकरथी जगतबहादुर पौडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मङ्गला गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी खत्रीले मङ्गला गाउँपालिकाको १० शय्याको अस्पतालको निर्माण रोकिएको जानकारी गराउनुभयो । त्यस्तै, बालबालिकालाई लामो जङ्गलको बाटो हिँडेर पढ्न जानुपर्ने समस्या भएको, बाबियाचौर बजार संरक्षण गर्नुपर्ने तथा बाबियाचौरदेखि मालिका जाने सडक स्तरोन्नती गर्न मागपत्र बुझाउनु भएको थियो ।