गोरखापत्र अनलाइन
काठमाडौं, चैत २ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआइको उपयोग अधिकतम गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदान, साझेदारी, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणको कुरा गर्दा नेपालले व्यावहारिक र तर्कसंगत विकल्पहरूसहित परियोजनाहरू छनौट र वार्ता गर्नुपर्ने बताउनुभयो । सन्तुलित र अग्रगामी दृष्टिकोण अपनाएर नेपालले दिगो विकास र आर्थिक वृद्धि हासिल गर्न बिआरआइका फाइदाहरू उपयोग गर्नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वका लागि बिआरआइ ल्याएको हो भनेर पश्चिमी देशहरुले गलत प्रचार गरिरहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआइ ल्याएको हो भन्ने प्रचार भइरहेको छ । यो पश्चिमी संसारको आवाज हो । व्यावहारिक रूपमा हामी बिआरआइ प्रयोग गरेर नेपाल वा अन्य देशहरूमा चीनको प्रभुत्वको कुनै प्रमाण र संकेत देख्दैनौं । केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्छन् । लुम्बिनी विमानस्थलको बारेमा पनि यस्तै हल्ला फैलाइँदैछ ।’
दक्षिण एशियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौम देशको रूपमा नेपाल रहेको चर्चा गर्दे नेता खनालले चीन र विश्वका अन्य सबै देशहरूसँग सम्बन्धलाई बढावा दिन नेपाल सधैं स्वतन्त्र रहेको बताउनुभयो । बेल्ट एण्ड रोड इनिसिएटिभसम्बन्धी नेपालको नीति सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको सिद्धान्तमा आधारित छ । हाम्रा दुई महान छिमेकीहरू छन् । तिनीहरू दुवैको अर्थतन्त्र द्रुत गतिमा विकास भइरहेको छ, उहाँले भन्नुभयो ।
चीनको अर्थतन्त्र २० ट्रिलियन डलर नाघेको चर्चा गर्दै नेता खनालले त्यसलाई असाधारण रूपमा चीनले विकासशील आर्थिक शक्ति बनाएको बताउनुभयो । यस्तो शक्तिशाली साझेदारबाट परियोजनाहरू प्राप्त गर्नु नेपालसहित सबै देशहरूको लागि वरदान भएको उहाँको बुझाइ छ । बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको उहाँले चर्चा गर्नुभयो ।