• २ चैत २०८१, शनिबार

खेत जोत्न किसानलाई पावर ट्रिलर

blog

किसानलाई पावर ट्रिलर वितरण गर्दै मर्स्याङ्दी गाउँपालिका । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत २ गते । मर्स्याङ्दी गाउँपालिकाका किसानलाई खेत जोत्नका लागि पावर ट्रिलर वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा किसानलाई पावर ट्रिलर वितरण गरिएको हो ।

गाउँपालिकाका नौ वटै वडाका ६५ जना किसानलाई पावर ट्रिलर वितरण गरिएको कृषि शाखा खुदीका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले पावर ट्रिलरका लागि बोलपत्र आव्हान गरेपछि कास्की पर्स्याङको भानु इन्टरप्राइजेजले ठेक्का पाएको थियो । २४ लाख ६४ हजारमा ठेक्का पाएको भानु इन्टरप्राइजेजले सस्तो मूल्यमा पावर ट्रिलर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । 

कृषिमा आधुनिकरण गर्नका लागि खेत जोत्न पावर ट्रिलर वितरण गरिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । “किसानको माग बमोजिम पावर ट्रिलर वितरण गरेका छौँ” अध्यक्ष गुरुङले भन्नुभयो, “अर्को वर्षहरूमा कृषिसम्बन्धी अन्य सामग्रीहरू पनि वितरण गर्दै जान्छौँ ।”

किसानको माग बमोजिम डिजल र पेट्रोलबाट चल्ने पाँच, छ र सात हर्सपावरका मिनि ट्रिलर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्नुन चपाइँले जानकारी दिनुभयो । बर्खामा जोत्नका लागि हिलेचक्का पनि ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने उहाँले बताउनुभयो । 

“गोरु पाल्न छोडेपछि खेती लगाउन समस्या भएको थियो” मर्स्याङ्दी–९ गैरीगाउँका किसान मायानाथ घिमिरेले भन्नुभयो, “पावर ट्रिलर पाएपछि हिउँद बर्खा, जुनबेला पनि जोत्न पाइने भयो ।” प्रविधिको प्रयोगले लागत घटाउने उहाँले बताउनुभयो ।

पावर ट्रिलरले खेत जोत्ने, माटो सम्याउने, ड्याङ बनाउने, गोड्ने सबै काम गर्न सकिने कृषि प्राविधिकले बताएका छन् । पहाडी जिल्ला लमजुङमा पछिल्लो समय खेत खनजोत गर्न पावर ट्रिलरको प्रयोग बढ्न थालेको छ । गोरु पाल्ने झन्झटले कृषकहरू आधुनिक मिनीपावर ट्रिलरतर्फ आकर्षित हुँदैगएका हुन । 

“आजभोलि त गोरु र खेतला पाउनै गाह्रो छ । पावर ट्रिलर भएपछि खनजोतमा सजिलो हुनेभयो” मर्स्याङ्दी –३ तरापुका किसान रवि थापाले भन्नुभयोे, “पावर ट्रिलर भएपछि समय, श्रमिक र खर्च सबै कम लाग्नेभयो ।”

गोरुलेभन्दा ट्याक्टरमा धेरै सस्तो हुने किसानहरू बताउँछन् । ट्रयाक्टरले खेत जोत्दा झार काट्ने र डल्ला पनि माडिने हुँदा रोपाइँ गर्न सजिलो उहाँहरूको भनाइ छ । “गोरुभन्दा धेरै सजिलो र किफायती हुने रहेछ,” मर्स्याङ्दी कृषि सञ्जालका अध्यक्ष भिष्मकान्त कुइँकेलले भन्नुभयो, “गोरुलाई जसरी घाँस हाल्नु परेन, तेल हालेपछि पुग्यो ।”