साहित्यकार डिआर नवीनको आठौँ कृतिका रूपमा कथासङ्ग्रह ‘खोक्पा’ पाठकको बिचमा छ । ११ वटा कथा सङ्गृहीत ‘खोक्पा’ को पहिलो कथा ‘बूढो रुख’ मा आफ्ना पिताको जीवन भोगाइ, व्यथा र समाजको वास्तविक चित्रण गरिएको छ । पिताको निधनपछि त्यही बुढो रुखको दाउराबाट दाहसंस्कार गरिएको दुःखद पक्ष समेटिएको छ । पिताले सो रुख नकाट्न पटक पटक आग्रहसमेत गरेका प्रसङ्ग मार्मिक ढङ्गले उल्लेख गरिएको छ ।
दोस्रो कथा ‘पुच्का’ मा गरिबीका कारण सानोतिनो पेसा गरेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने वास्तविकता प्रस्तुत गरिएको छ । ‘पुच्का’ भनेको पानीपुरीको अर्को नाम हो, जुन अत्यन्तै लोकप्रिय बनेको विषय उठाइएको छ । हरेक मानवले काम गर्नु पर्छ, काम सानो र ठुलो हुँदैन भन्ने सन्देश कथाकारले दिनुभएको छ । तेस्रो कथा ‘परिवर्तन’ मा कथाकारले अमेरिकाको व्यस्त जीवनको बारेमा चर्चा गर्नुभएको छ । आफ्नै देशमा बसेर जीविकोपार्जन सहज रूपमा गर्न सकिने सन्देश विदेश जाने युवालाई सो कथामा दिइएको छ । कथाकारले व्यावसायिक कृषि प्रणाली अवलम्वन गर्दै पशु बिमा, कृषि बिमा र राज्यले कृषिलाई व्यावसायिक बनाउन पहल गर्न सक्ने विषयमा समेत सङ्केत गर्नुभएको छ ।
चौथो कथा ‘परिणाम’ मा चेतनाथ र पुष्पा पात्र अघि सारेर मध्यमवर्गीय परिवारको मनोदशालाई प्रस्तुत गरिएको छ । पुष्पाले राम्रै चलेको ब्युटी पार्लर व्यवसायमा गलत काम गर्दा घरबास नै बिग्रिएर उठिबास भएको नमिठो घटना कथामा बढो मार्मिक रूपले चित्रण गरिएको छ । कथामा पुष्पाले मादक पदार्थ सेवन गरी राती राती बैठक भनेर भएभरका पैसा सिध्याएको सन्दर्भ उठाइएको छ । पुष्पाले आफ्नो नामको घरसमेत पतिलाई थाहै नदिई बैङ्कमा धितो राखेको र व्यवहार सबै बिग्रँदा त्यही घर पनि लिलाम भएर उठिबास भएको नकारात्मक पक्ष देखाइएको छ ।
पाँचौँ कथा ‘हराएको नाता’ मा कथाकारले आजका मानव कति स्वार्थी र मानवताविहीन बनेका छन् भन्ने वास्तविकतालाई पाठकको मन छुने गरी प्रस्तुत गर्नुभएको छ । धन भएर पनि मन नहुँदा आफ्नै आमाबाबुलाई वृद्धाश्रममा राख्ने सभ्य र शिक्षित भनिएका छोराको अमानवीयताप्रति कथाकार रोष प्रकट गर्नुहुन्छ । कथामा त्यस्ता मानव, जो आफ्नो कर्तव्य र जिम्मेवारीबाट भाग्छ, ऊ मरेतुल्य हुने वास्तविकता उल्लेख गरिएको छ । छैटौँ कथा ‘रवि’ मा एउटी नारी सहरमा पढ्नका लागि कतिसम्म दुःख, पीडा र हन्डर खप्न विवश हुन्छिन् भन्ने विषय रोचक ढङ्गले प्रस्तुत गरिएको छ । एउटी सुन्दर नारी केटासँग कसरी फस्न पुग्छिन् भन्ने पक्ष पनि कथाकारले रमाइलो पारामा व्यक्त गर्नुभएको छ । केटासँग फसेपछि उनले समाजमा बाबु पहिचान गर्न नसक्दा आफ्नो रक्षाबाट ‘र’ अनि त्यही केटाको विवेकबाट ‘वि’ मिलाएर आफ्नो छोराको नाम रवि राखिएको सन्दर्भ देखाइएको छ ।
सातौँ कथा ‘नयाँ बाकस’ मा जनक र जानकीको सानी एउटी छोरी जो भर्खरै विद्यालय जान मात्र थालेकी हुन्छे । जनक र जानकीको जोडी स्वदेशमा छँदा अत्यन्त मिल्ने छरछिमेकमा उदाहरणीय पनि बनेका थिए । जनक रोजगारीका लागि विदेश गएको सन्दर्भ उठाइएको छ । जनक विदेश गएपछि जानकी बिस्तारै परपुरुषसँग लाग्छे भने विदेश गएको जनकले पनि परस्त्रीगमनमा लागेर स्वास्थ्य बिगारी उतै ज्यान गुमाएको कारुणिक तस्बिर सो कथामा उतारिएको छ । जनक विदेश जानेहरूको प्रतिनिधि पात्र बनेका छन् । जानकी भने विदेशमा काम गर्न गएका पतिले पठाएको पैसा कसरी परपुरुषसँग लागेर सक्छन् भन्ने चित्रण गरिएको छ । उता विदेशमै ज्यान गुमाएका जनकको शव ल्याइएको कफिनलाई छोरीले खेलौना र नयाँ नाना ल्याइदिएको भन्ने ठानेर खुसीले उफ्रेको प्रसङ्ग पनि समेटिएको छ ।
आठौँ कथा ‘गाडधन’ मा जमिनदार टारघरे नाको बुढाले गाउँका मानिसलाई ब्याजमा पैसा लगाएर धन बटुल्दै गएको र उसका छोराछोरी सबै विदेशमा रहेका हुन्छन् । टारघरे बुढाले एक रात सपनीमा गाडधन जसमा हिरामोतीजडित गरगहनासहितको अमूल्य सम्पत्ति भेटेको देख्छन् । विपनामा त्यो गाडधन पाउन विकासका अनेकौँ कार्य गर्छन् । खेलमैदान, सडक निर्माण गरी आखिरमा गाडधनभन्दा समाजसेवा गरी राष्ट्रपतिबाट सम्मानित हुनु चाहिँ ज्यादा ठुलो भएको रोचक सवाल उल्लेख गरिएको छ । नवौँ कथा ‘लाहुरेको सिरानी’ मा लाहुरे भएपछि नाम र दाम कमाएर मात्र हुँदैन, समाजका सबैलाई आवश्यक पर्ने विद्यालय, सडक, पुस्तकालय आदि निर्माण गरी मानिसको मृत्युपछि पनि सम्झने कार्य पो गर्नु पर्छ भन्ने सन्देश दिइएको छ ।
१० औँ कथा ‘मायाको चिनो’ मा सुबिन र सोबिताको प्रेममा सुबिनको विवाह गरिदिन चाहेका थिएनन् केटी पक्षले । आखिरमा सुबिन र सोबिताकी साथी नीलमका बा अमरकी पत्नी उही सुबिनकी आमा भएको रहस्य पनि खुलेको रोचक प्रसङ्ग देखाइएको छ । अन्तिम कथा ‘लङ्गडोको साथी’मा गरिबीको कारुणिक चित्र प्रस्तुत गएिको छ । आफू लङ्गडो भएर पनि कसरी अरूलाई सहयोग गरी मानवताको उदाहरण बन्छन् मानिस भन्ने मार्मिक सन्दर्भ यसमा उठाइएको छ ।
समग्रमा यस कथासङ्ग्रहका सबै कथा समाजको वास्तविकता हुन् । यसमा वैदेशिक रोजगारीले दिएको पीडा, प्रकृति र मानवबिचको सम्बन्ध, स्थानीय भाषा, सामाजिक सांस्कृतिक अनि जातीय पहिचान समेटेर सरल भाषामा पाठकको मन छुने गरी कथाहरू प्रस्तुत गर्नुभएको छ, कथाकार डिआरले । कथाहरू रोचक, पठनीय र सङ्ग्रहणीय छन् ।