• २ चैत २०८१, शनिबार

युद्ध, जात्रा, थिति र उजिरसिंह

blog

नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई हराएपछि सुरु गरिएको ऐतिहासिक जात्रा पाल्पामा मनाइन्छ । राष्ट्रियतासँग जोडिएको ऐतिहासिक भगवतीको रथजात्राका रूपमा मनाइने यो जात्रा विजयोत्सवका रूपमा निकालिन्छ । तानसेन नगरपालिका–३ को भगवती टोलस्थित भगवती मन्दिरबाट निकालिने भगवती जात्राका लागि रणउजेश्वरी भगवती गुठीसमेत रहेको छ ।

नेपाली सेनाको सलामीपछि भगवती जात्रा सुरु हुन्छ । यस जात्रा भगवती जात्रा, रथयात्रा अर्थात् सिन्दूर जात्राका रूपमा समेत परिचित छ । यस जात्रासँग नेपाल–अङ्ग्रेज युद्ध, नेपाल पक्षको विजय र पाल्पाली प्रशासक कर्णेल उजिरसिंह थापाका बहादुरीका कथा जोडिन्छन् । 

पाल्पाको पहिलो प्रशासक सानाकाजी अमरसिंह थापाको विसं १८७१ मा देहान्त भएपछि १९ वर्षीय उजिरसिंह थापा पाल्पाको निजामती प्रशासक बन्न पुगे । नेपाली सेनाको कर्णेल बन्दा उजिरसिंह थापा २० वर्षका थिए । निजामतीतर्फका प्रशासक, जङ्गीतर्फका कर्णेल । पाल्पाका तत्कालीन सैनिक प्रशासक कर्णेल उजिरसिंह थापालाई इतिहासकार निर्मल श्रेष्ठले ‘समर सौन्दर्यका नायक’ सम्बोधन गर्नुभएको छ । इतिहासकार निर्मल श्रेष्ठले ‘समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापा, नेपाल–अङ्ग्रेज युद्ध र महिषासुरमर्दिनी श्री ७ रणउजिरेश्वरी भगवती जात्रा’ पुस्तक लेखी इतिहासका विविध पक्ष, जात्रा परम्पराको सुरुवातका विषयमा चर्चा गर्नुभएको छ । 

राजा गीर्वाणयुद्धविक्रम शाहको कार्यादेशमा १८७२ वैशाख ७ मा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाको फौजले नुवाकोट–जितगढी क्षेत्रमा अङ्ग्रेजसँग प्रत्याक्रमण युद्ध लडी ऐतिहासिक विजय हासिल गर्‍यो । गोरखाली युद्धको यो नमुना पनि विश्व चर्चित सैनिक इतिहास बन्न पुग्यो । नेपाल–अङ्ग्रेजबिच सन् १८१६ मा ‘सुगौली सन्धि’ सम्पन्न भएपश्चात् उजिरसिंह थापालाई नेपाल–अङ्ग्रेजबिच सीमा निर्धारणमा खटाइएको थियो (थापा, टेकबहादुर, उजिर सन्देश, २०८० : पृ. १०७) । 

मुख्तियार जनरल भीमसेन थापा, ब्रिटिस युद्धकार्याधिकृत जनरल डेभिड अक्टरलोनीको छोराका मितबुवा नेपालका जीवित सिंह एवं बडाकाजी अमरसिंह थापा, बुटवलसमेतको कमान्ड समाल्नुभएका युद्धकार्याधिकृत कर्णेल एवं सुगौली सन्धिपश्चात् तत्कालीन नेपालको सीमाङ्कन कार्य गर्न खटिएका उजिरसिंह थापाको कूटनीतिक रणकौशलका कारण सुगौली सन्धिबाट गुमेको एवं युद्धको समयमा विवादको मुख्य स्थल बनेको बुटवल क्षेत्र नेपालले फिर्ता लिन सफल भएको थियो (थापाचार्य, रणोद्दिमसिंह, वंशडायरी, १९४१ : पृ.२१) ।

यो गुणले पनि पाल्पा–बुटवल क्षेत्रका स्थानीयवासी आफ्नो नेपाली सेना र आफ्ना स्थानीय सैनिक कमान्डर उजिरसिंह थापाप्रति आस्थावान् रहेको पाइन्छ । नेपाली सेनाका कमान्डर कर्णेल उजिरसिंह थापाले जितगढी युद्ध मैदानमा जानुअगाडि महिषासुरमर्दिनीको पाउ छोएर ‘यदि युद्धमा विजयी भएमा विशाल मन्दिर बनाई सिन्दूर जात्रा गर्ने छु, यिनै भगवतीको महिमा चारैचौरास फैलाउने छु’ भनी गरेको भाकलको प्रतिज्ञास्वरूप युद्ध जितेपछि उजिरसिंहले तानसेनमा रणउज्जेश्वरी भगवतीको तीनतले मन्दिर र धातुको कलात्मक मूर्ति निर्माण गराउनुका साथै भगवती जात्राको शुभारम्भ पनि गराएका थिए । सो जात्रा अहिलेसम्म पनि पाल्पाको प्रमुख जात्राका रूपमा मनाउने गरिएको छ । 

भाद्र कृष्णअष्टमीका राति कर्णेल उजिरसिंह थापाको खड्गलाई रथारोहण गरी तीन पटक सो मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढाइँ गर्छ । नवमीका दिन तैनाथवाला नेपाली सेनाका कर्णेलद्वारा ‘कर्णेली पूजा’ गर्ने प्रचलन छ । 

मनुस्मृति, ऋगवेद, किराँतकालीन थिति, लिच्छविकालीन थिति, रामशाहका २६ थिति, जयस्थिति मल्लको ‘मानव न्यायशास्त्र’/‘न्याय विकसिनी’, महेन्द्र मल्लको सुधार कार्य, पृथ्वीनारायण शाहको दिव्योपदेश, रणबहादुर शाहको कानुनी बन्दोबस्त, गीर्वाणयुद्ध विक्रम शाहको थिति आदि तत्कालीन नेपालको प्रशासन र न्यायिक बन्दोबस्तका स्रोत र आधार हुन् । यी आधारका मूल्यमान्यता र दर्शनमा टेक्दै उजिरसिंह थापाले (पनि) मुकाम पाल्पा श्रीनगर गौँडामा सैनिक तथा निजामती बन्दोबस्ती गर्न र नागरिकलाई न्याय दिलाउन विक्रम संवत् १८७९ चैत्रबदि १ रोजका दिन ‘जङ्गी तथा निजामती स्थिति बन्देज (आईन)’ निर्माण गराई लागु गराएको पाइन्छ । कतिपयले तात्त्विक रूपमा यो आईन (ऐन) होइन भने पनि शाब्दिक रूपमा त्यहाँ ‘आईन’ शब्द परेको हेर्न सकिन्छ । यसलाई काजी उजिरसिंह थापाले तयार गरी लागु गराएको नेपालको पहिलो ‘कर्मचारी तालिम प्रशिक्षण पुस्तिका’ पनि भनिन्छ । 

यसरी जङ्गी तथा निजामती कर्मचारीलाई तालिम गर्न भनी तर्जुमा गरेको नीति बन्देज ऐनले पुष्टि गर्दछ (के.सी., उषाकिरण, उजिर सन्देश, २०८० : पृ. ६१) । यसमा छ थिति बन्देजहरू छन् । कतिपय विद्वान्ले यसलाई ऐनका रूपमा स्तर निर्धारण गरी सम्बोधन गरिरहँदा यसबारे मिश्रित प्रतिक्रिया सार्वजनिक छन् । कतिपय विद्वान्ले यो मसौदालाई ऐनका रूपमा स्विकार्न चाहँदैनन । कतिपय विद्वान्ले यो मसौदालाई नेपालको पहिलो ऐनको मसौदा हो भनेर मान्ने गरेको पाइन्छ । जे होस् यसको ऐतिहासिक मूल्यमान्यता, औचित्य र सान्दर्भिकताबारे आधुनिक निजामती क्षेत्रमा पनि औपचारिक रूपले बहस हुन जरुरी छ । कतिपय विद्वान्ले उजिरसिंह थापाको यो ‘आईन’ समेतको आधारमा टेकेर जङ्गबहादुर राणाले विसं १९१० मा नेपालको पहिलो लिखित कानुनका रूपमा ‘मुलुकी ऐन’ निर्माण गराई जारी गरेको दाबी गरेको पाइन्छ । 

उजिरसिंहको ‘जङ्गी तथा निजामती स्थिति बन्देज (आईन)’ मा यस्ता विषय समेटिएका छन्– पहिलो बन्देजमा कुनै पनि कार्यालयका हाकिमले काम गर्दा र कर्मचारी भर्ना गर्दा ध्यान दिनुपर्ने तथ्य लेखिएको छ । कुनै पनि कर्मचारीले मान पदवी पाएपछि घमण्ड अभिमान गर्नु हुँदैन, अभिमानको वशमा परी कसैले अरूमाथि अन्याय गरेमा उसलाई ईश्वरले दण्ड दिने हुनाले कर्मचारीले नुनको सोझो चिताई काम गर्नु पर्दछ भन्ने तथ्य उल्लेख गरिएको छ (बानियाँ, कर्णबहादुर, नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान, २०७० : पृ. २४) । 

यसरी पहिलो बन्देजमा सोचविचार गरी (कर्मचारीले) काम गर्नु पर्छ, कुनै व्यक्तिलाई सजाय गर्दा राम्रोसँग बुझी तहकिकात गरी अपराधीले अपराध स्वीकार गरेमा मात्र अपराध अनुसारको दण्ड दिनुपर्ने, दण्ड दिएर अपराध कबुल गर्न लगाउन नहुने, आफूले गरेको कामको जस अपजस आफैँले लिनुपर्ने तथ्य सो ‘आईन’ मा समेटिएका छन् । त्यसै गरी ‘भारदारको छोरो नाती हो यसका बाबु येसतो हुन्, यसका बाज्या येसता हुन्, यसता गढीको हो भनी होसियार नभयाको अद्बेसरो बेकुपलाई कामकाजको मुष्तियार नदिनु...’ भनी स्पष्ट व्यवस्था गरेको पाइन्छ । त्यसै गरी ‘...यो छोटो हो यो वडो हो यो बिरानु हो यो आपसत हो भनीकन पनपक्ष नगर्नु मर्मिहिनत माफिक रिझमा ईनायपात दिँदा मानमज्र्यादा र बिधुतवेजाञामा डाट्गिरी सासना गर्दा बन्देजका सवाल बमोजिम सभैलाई बराबर गर्नु ...’ भनिएको छ । यसले नातावाद, कृपावाद, पद र ओहदाका पछि नलागी जनता र राष्ट्रका लागि निःस्वार्थ, निष्पक्ष भएर काम गर्नुपर्ने प्रतिनिधिमूलक सङ्केत गर्न खोजेको छ । त्यसै गरी ‘...कुनै पनि प्रशासकले जंगी, मुलुकी तथा अदालत तीनैतर्फ विचार पुर्‍ र्याइ काम गर्नुपर्छ । जंगीतर्फ मात्र ध्यान दिए सेनाले रैतीलाई पिरोल्दछ । रैतीतर्फ मात्र हेर्‍यो भने अदालत बलियो हुँदैन । अदालतले आम्दानी मात्र हेर्‍यो भने दुनियाले इन्साफ पाउँदैन । सिपाही शूरा, अदालत बलियो र रैयत सुखी रहेमा मात्र मुलुक गुल्जार हुने हुनाले यी तीनैमा समन्वय राखिनु पर्छ ...’ (राष्ट्रिय अभिलेखालय, कर्णेल उजिरसिंह थापाबाट तज्बीज गरी बनायाको आईन पुस्तिका, विषय २, मेनुस्क्रिप्ट नं. ३०७ : रिल नं. बी २८०/२३) । 

‘आईन’ को दोस्रो बन्देजमा हाकिमले पल्टनका जवान भर्ना गर्दा ध्यान दिनुपर्ने तथ्य उल्लेख छन् । तेस्रो बन्देजमा पल्टनका जवानले कुन कुन नियम र अनुशासन पालना गर्नु पर्छ र त्यसको पालना नगरेमा कस्तो दण्डको भागी बन्नु पर्छ भन्ने तथ्य उल्लेख गरिएका छन् । चौथो बन्देजमा अदालत बन्दोबस्तका तथ्य उल्लेख गरिएको छ । पाँचौँ र छैटौँ बन्देजमा अपराध अनुसारको दण्डसजाय तोकिएको छ । यद्यपि अपराधको कसुर अनुसार मृत्युदण्ड दिन पाउने किसिमको सजाय मानव अधिकारविरुद्ध हनन हुने भएकाले हालको परिप्रेक्ष्यमा त्यो समयको बन्देजका केही त्यस्ता संवेदनशील कानुनी तजबिज अव्यावहारिक भएकाले केही त्यस्ता बन्देजबाहेकलाई छोडेर बन्देजका प्रायः अधिकांश तजबिज त्यसपछि आजका मूल कानुन, कानुन र प्रशासनका जीवित आधार मानिँदै आएको पाइन्छ ।