बुटवल समाचारदाता
बुटवल, चैत २ गते । पहाडी जिल्लामा बिहीबार मनाइएको (फागुपूर्णिमा) होली रुपन्देहीमा शुक्रबार धुमधामका साथ मनाइएको छ । रुपन्देहीका विभिन्न स्थानमा होली मिलन कार्यक्रम गरी होली अर्थात् फागुपूर्णिमा मनाइएको हो । नेपाल पत्रकार महासङ्घ रुपन्देही, नेपाल किसान महासङ्घ रुपन्देही, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ सैनामैना रुपन्देही, तिनाउ लुम्बिनी सामुदायिक पुस्तकालयलगायतका सङ्घ संस्थाले होली मिलन कार्यक्रम गर्दै होली खेलेर मनाएका छन् ।
खासगरी पहाडमा एक दिनअघि धुमधामका साथ फागु खेलेर यो पर्व मनाइन्छ भने तराईमा एक दिनपछि होली पर्व मनाउने परम्परा छ । होलीका अवसरमा रुपन्देही जिल्लाका विभिन्न स्थानमा होली मिलन कार्यक्रम गरिएको छ भने थारू समुदायले संस्कृति संरक्षण गर्दै होली मनाएका छन् ।
त्यसै गरी होलीपर्वकै अवसरमा उद्योग वाणिज्य सङ्घ रुपन्देही बुटवलले भने बिहीबार नै होली मिलन समारोहको आयोजना गरी होली मनाएको हो । यसै गरी रुपन्देहीमा सोमबार थारू समुदायले पुरानो फागु गीत र संस्कृति संरक्षण गर्ने अभियान चलाउँदै होली मनाएका छन् । थारू कल्याणकारी सभा सैनामैना नगर समिति रुपन्देहीले होलीमा गाइने थारू फागुगीत लोप हुँदै गएको भन्दै यो वर्ष फागुगीत संरक्षण गर्न तीनदिने होली मिलन कार्यक्रम गरेको छ ।
थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले थारू गाउँमा तीन दिनसम्म फागुगीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने गरी होली मनाउँदै गरेको बताउनुभयो । थारू कल्याणकारी सभा सैनामैनाका पूर्वअध्यक्ष रामबलि चौधरीले सैनामैनाका सबै थारू समुदायको गाउँमा एकै दिन फागु खेलेर नसकिने भएकाले तीन दिनसम्म फागुगीत गाएर थारू फागु संस्कृति संरक्षण गर्ने अभियान चलाएको बताउनुभयो ।
हिन्दु–मुस्लिम मिलेर मनाए होली
नेपालगन्ज समाचारदाताका अनुसार हिन्दु–मुस्लिम सद्भावको पर्वका रूपमा परम्पराकालदेखि नै मनाइँदै आएको होलीपर्व यस वर्ष पनि सोही परम्पराका साथ सद्भाव र सौहार्दतापूर्वक मनाइएको छ । नेपालगन्जका हिन्दु–मुस्लिम सबैले मिलेर धार्मिक सद्भाव र एकताका साथ रङ, अबिर लगाई धुमधामका साथ शुक्रबार होलीपर्व मनाएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।
उहाँले यस वर्ष होली र रमजान पर्व सँगै परेकाले दुवै समुदायले एकअर्काको पर्वको शुभकामना दिएर अङ्कमाल गरी मनाएको बताउनुभयो । यस्तै नेपालगन्जका अर्का अगुवा कृष्णप्रसाद श्रेष्ठले धेरै वर्षपछि यस पटक अति नै धुमधामका साथ सबैले मिलेर होली मनाएको जनाउँदै होलीमा सबै धर्मका अगुवाको सहभागिता रहेको बताउनुभयो ।
हिन्दु–मुस्लिम सद्भावको पर्वका रूपमा रहेको यो पर्वलाई यस पटक पनि सबैले मिलेर रमाइलो गरी मनाएको मुस्लिम अगुवा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । उहाँले सबै धर्मावलम्बीको चाडपर्वलाई सबैले मिलेर मनाउने परम्परा अनुसार नै होली पनि मनाइएको बताउनुभयो ।
यसै गरी अर्का मुस्लिम अगुवा वरिष्ठ समाजसेवी प्रवेज अलि सिद्दिकीले हरेक वर्ष झैँ यस वर्ष पनि हिन्दु साथीभाइसँग मिलेर होली मनाएको बताउनुभयो । यस वर्ष हिन्दुको महान् पर्व होली र मुस्लिम समुदायको रमजानको शुक्रबार जुमा एकै दिन परेकाले दुवै पर्व शान्तिपूर्ण मनाउन बाँकेको सुरक्षा व्यवस्था अति नै कडा पारिएको थियो ।