काठमाडौं, चैत १ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य र कलाले भौगोलिक सीमाना पार गर्दै नविन चिन्तन, सहिष्णुता र सांस्कृतिक समन्वयको मार्ग खुला गर्ने बताउनुभएको छ ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हिमवत्खण्ड कला–साहित्य संस्कृति सम्मिलनको समुद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सम्मिलनमा विविध मुलुकका नागरिक भएपनि प्राचिन पौराणिक भूगोल तथा सभ्यताको साझा धागोले एकतामा बाँधेको उहाँको भनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “मलाई लाग्छ, हामी भिन्न भएपनि एकै हौं । विविध भएर पनि साझापनको सुत्रमा आबद्ध छौं । हाम्रा राष्ट्रहरुको सन्दर्भमा पनि यो कुराहरु उत्तिकै लागु हुन्छ । साहित्य र कलाले हाम्रा भौगोलिक सीमाना पार गर्दै नविन चिन्तन, सहिष्णुता र सांस्कृतिक समन्वयको मार्ग खोल्दछ जसले विश्वव्यापी भाइचारा बढाउँछ ।”
उहाँले हिमवत्खण्डको केन्द्रमा रहेको नेपाल सभ्यता र ज्ञानको आदिभूमि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिमवत्खण्डको केन्द्रमा रहेको नेपाल सभ्यता र ज्ञानको आदिभूमि हो । यही भूमिमा सबैभन्दा प्राचिन ग्रन्थ ऋगवेद र प्राचिन भाषा संस्कृतको जन्म भएको हो । हिमवतखण्ड वास्तवमा एक पौराणिक भूगोल हो । जसका बारेमा अनेक कोणबाट अध्ययन, अनुसन्धान हुँदै जानेछ । यस सम्मिलन तथा बहसले यस क्षेत्रलाई साहित्यिक एवम् सांस्कृतिक भूगोलको आकार दिन सफल हुनेछ भन्ने मलाई विश्वास लागेको छ ।”
उहाँले यस भूखण्डमा शाक्य सभ्यता, खस आर्य सभ्यता, किरात, मिथिला र बागमती सभ्यता जस्ता समृद्ध सभ्यता विकसित भएको बताउनुभयो । यसले दक्षिण एसिया र पूर्वी एसियाको सभ्यता तथा संस्कृतिमा गहिरो असर पुगेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यस हिमवत्खण्डमा विकसित सभ्यता, दार्शनिक, धार्मिक, सामाजिक, सांस्कृतिक दृष्टिले समृद्ध रहेका छन् । यस क्षेत्रमा हुर्किएका वैदिक संस्कृति, योग, ध्यान, आयुर्वेद तथा कर्म, धर्मको सिद्धान्त यस सभ्यताको मौलिक विशेषता हुन् । जसले, मानव र प्रकृतिबिचको सन्तुलन, आध्यात्मिक उन्नति तथा सामूहिक सद्भावलाई केन्द्रीत गरी विश्व सभ्यतालाई गहिरो प्रभाव पार्न सफल छ । त्यसैले पश्चिमी मुलुकहरुले समेत यहाँको ज्ञान र परम्परालाई अनुसरण गरिरहेका छन् ।”
पूर्वराष्ट्रपति भण्डारीले हिमवत्खण्ड क्षेत्रमा फैलिएको नेपालीपनलाई साझा विरासतले बाँधेको भन्नुहुँदै समुदायबिचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक आदानप्रदानले नेपाली भाषीको पहिचान बलियो बनाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्राचिन साझा पौराणिक भूगोलका बासिन्दा आज विविध मुलुकका नागरिक छौं । तथापि, हाम्रा बिचमा उही सभ्यताको धागो छ । संस्कृतिको सुन्दर सेतु छ जसले आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ ।” आधुनिकता र पश्चिमी प्रभावको तीव्रता बढेसँगै मौलिक परम्परा र ज्ञान प्रणाली मिश्रित हुँदै गएको अवस्थामा सांस्कृतिक धरोहरको पुर्नजागरण तथा पुनरुत्थान हुन अत्यावश्यक रहेको उहाँको भनाइ छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले पूर्वीय ज्ञानको स्रोतहरु बिर्सेर पश्चिमा ज्ञानमा रमाउने प्रवृत्ति बढेको भन्नुहुँदै मौलिक र रैथाने जीवनशैली लोप हुने अवस्थामा रहेको बताउनुभयो । उहाँले मानवीय स्वार्थका कारण प्रकृति, पर्यावरण जथाभाबी दोहन गर्ने विकृति बढेको गुनासो पनि राख्नुभयो ।
काशी हिन्दु विश्वविद्यालयको भारतीय भाषा विभागका अध्यक्ष प्रा.डा. दिवाकर प्रधानले नेपालमा राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा मतभेद भएपनि मनभेद नहुँदा नेपालले सार्वभौम बचाएर राख्न सफल भएको बताउनुभयो । नेपाल सनातन संस्कृति हिन्दु, बौद्ध र मुन्धुमको एकाकार शक्ति भएको देशका रुपमा रहेको उहाँको भनाइ छ ।
मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले फाउण्डेसनको उद्देश्य मौलिक सोच, अभिव्यक्ति र माटो सुहाउँदो सोचको विकास गर्नु रहेको बताउनुभयो । बाल साहित्य तथा बाल मनोविज्ञानलाई टेवा दिने गीतसंगीतहरु नहुँदा बालबालिका तथा किशोरकिशोरी अङ्ग्रेजी गीतसंगीतमा आकर्षण भइरहेको र यसले मौलिकपनलाई लोप गर्दै लगेको उहाँको भनाइ छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र ‘सिनास’ का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले हजारौं विद्यावारिधी हुँदा समेत एउटा विचार निर्माण हुन नसकेको भन्नुहुँदै अध्ययन, अनुसन्धानमा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले हिमवत् संस्कृतिले सबैलाई जोडेको तर यस विषयमा केही पनि आवाज नउठेका कारण यस सम्बन्धमा बहस एवम् अन्तरक्रियाका लागि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
सुब्बाले भन्नुभयो, “आफ्नो बाबु, बाजे, बोज्युले समेत नेपाल नदेखेका तर नेपालको नाम लिदा समेत रुने पुस्तालाई नेपाल चिनाउन आवश्यक छ ।”
कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (एमाले) कला, साहित्य तथा संस्कृति विभाग प्रमुख रघुजी पन्त, प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वासुदेव त्रिपाठी लगायत नेपाल, भारत, चीन, बङ्गलादेश, म्यानमार, भुटान र थाइल्याण्डका साहित्यकार एवम् स्रष्टाहरु सहभागी हुनुभएको छ ।
सम्मेलनको पहिलो दिनमा सेती–महाकाली प्रस्रवण क्षेत्रको लोकसंस्कृतिका सम्बन्धमा साहित्यकार तथा सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गोष्ठिपत्र प्रस्तुत गर्नुभयो । यसैगरी, कर्णाली क्षेत्रको प्रा.डा. जीवेन्द्रदेव गिरी, लुम्बिनी क्षेत्रको प्रा.डा कपिल लामिछाने, गण्डकी क्षेत्रको तुलसीराम खनाल ‘प्रभास’, बागमती क्षेत्रको अजितमान तामाङ, मिथिला क्षेत्रको रोशन जनकपुरी र कोशी क्षेत्रको डा. भक्त राईले गोष्ठिपत्र प्रस्तुत गर्नुभयो । उक्त सम्मेलन चैत ३ गतेसम्म जारी रहनेछ ।