काठमाडौँ, चैत १ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विद्यार्थी नेताबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा विद्यार्थी नेताहरूले जोड दिएका छन् ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले अधिकांश क्याम्पसमा स्ववियुको निर्वाचन कार्यतालिका अनुरूप प्रक्रिया अगाडि बढेको भए पनि कतिपय क्याम्पसमा तालाबन्दीको अवस्था सिर्जना भएको बताउनुभयो । यस किसिमको संस्कृतिले विद्यार्थीको ऊर्जा मार्ने काम गरेको उहाँको भनाइ छ ।
बडालले भन्नुभयो, “केही क्याम्पसमा तालाबन्दी भएका छन् । केही क्याम्पसमा भने निर्वाचन प्रभावित भएको छ । तालाबन्दी जस्ता संस्कृतिले विद्यार्थीको ऊर्जा मार्ने काम गर्छ ।”
उहाँले स्ववियु स्वतन्त्र अङ्ग भएकोले विद्यार्थी आचरण भएको तथा विद्यार्थीबिच लोकप्रिय नेतृत्व चुनिनुपर्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “स्ववियु स्वतन्त्र अङ्ग हो त्यसैले निर्वाचनमा लोकप्रिय, विद्यार्थी आचरण भएको नेतृत्व आउनुपर्छ । विद्यार्थीका हक, हितका विषयवस्तु, एजेण्डा राख्न सक्ने, आम विद्यार्थीलाई नेतृत्व गर्न सक्ने नेतृत्व चुनिनुपर्छ । सम्बन्धित शैक्षिक संस्थाको विद्यार्थीलाई नेतृत्व गर्ने विद्यार्थी नै त्यहाँबाट आउने र त्यस्तै खालका विद्यार्थी अनुमोदन भएर आउनुपर्छ ।”
उहाँले स्थानीय स्तरका क्याम्पसहरूमा नेतृत्व चयनमा विद्यार्थी सङ्गठनबिच सहमति भए पनि केन्द्रीय तहमा कुनै पनि विद्यार्थी सङ्गठनबिच गठबन्धन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय स्तरका क्याम्पसमा निर्वाचनमा गरिने सहमति, सहकार्य पनि एउटा उच्चतम प्रयास हो । तर, हामी ठुला निर्वाचन हुने क्याम्पसमा त्यो हुन दिँदैनौं । हामी स्वच्छ प्रतिस्पर्धामार्फत नै विद्यार्थीलाई नेतृत्व चयन गर्न दिनुपर्छ भन्ने मान्यमा आज पनि अडिग छौं । हामी त्यही अनुसार नै अगाडि बढिरहेका छौं ।”
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन नेतृत्व क्षमता विकास गर्ने एक प्लेट्फर्मको रूपमा अभ्यास हुँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीको नेपालमा वा विश्वमा नै पारदर्शीरूपमा नेतृत्व क्षमता विकास गर्ने एक प्लेटफर्मको रूपमा स्ववियु रहेको भनाइ राख्नुभयो ।
शेर्पाले भन्नुभयो, “स्ववियु निर्वाचन लिडरसिप डेभलप्मेन्ट प्लाट्फर्म हो । जसले पारदर्शी रूपमा नेपालमा वा संसारमा जुनसुकै ठाउँमा जाँदा पनि लिडरसिप डेभलप्मेन्ट प्लाट्फर्मको रूपमा लिडरसिप स्किलको विकास गरोस् ।”
उहाँले स्ववियु निर्वाचनमा एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने स्थिति रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने भनेको हो । तल्लो तहमा साथीले आफ्नो किसिमले गरिरहेका छन् । हामी एक्ला–एक्लै लड्ने हो ।”
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटाले शिक्षासम्बन्धी समस्यालाई समाधान गरेर वास्तविक मुद्दाहरू उत्थान गर्ने विद्यार्थी नेतृत्व आउनुपर्ने बताउनुभयो ।
सापकोटाले भन्नुभयो, “आजको शिक्षाको समस्यालाई समाधान गरेर तिनीहरूका वास्तविक मुद्दाहरू उत्थान गर्ने विद्यार्थी नेतृत्व आउनुपर्छ । अब आउने पुस्ताले हिजोबाट पाठ सिकेर नयाँ ढङ्गको शिक्षामा धेरै परिवर्तन गर्नुपर्नेछ ।”
उहाँले विद्यार्थी आन्दोलनलाई प्रविधिमैत्री बनाउनुपर्ने आजको आवश्यकता रहेको औँल्याउनु भयो । उहाँले भन्नुभयो, “आजको युग, प्रविधिसँग जोडिएको नेतृत्व हुनु पर्यो । आजको प्रविधिसँग हाम्रो विद्यार्थी आन्दोलनलाई प्रविधिमैत्री बनाउनुपर्ने छ । क्याम्पस वा विश्वविद्यालयलाई नयाँ मोडलको रूपमा विकसित गर्ने अनुयायीको रोलमोडल हुनुपर्छ । जसले गर्दा विश्वविद्यालयमा अरू विद्यार्थीको आकर्षण हुन सक्छ ।”
उहाँले शिक्षादेखि सबै भौतिक संरचनाको व्यवस्थापन, सामाजिक न्याय सबै कुरामा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने नेतृत्व चयन हुनुपर्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष महेश श्रेष्ठले स्ववियु निर्वाचनबाट विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न सक्ने नेतृत्व आउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्ववियु एउटा दबाबमूलक संस्था हो । विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्ने र त्यहाँको समस्या समाधान गर्ने नेतृत्व आउनुपर्छ । शैक्षिक वातावरण अझ राम्रो बनाउनुपर्छ । त्रिविको आङ्गिक क्याम्पसमा पैसा हुँदा राम्रो शिक्षा र नहुँदा कमसल शिक्षा पढ्नुपर्ने दोहोरो शिक्षा प्रणाली छ, यसको अन्त्य हुनुपर्छ ।”
उहाँले पुरानो परिपार्टी नदोहोर्याइ नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “फ्रेस र रेगुलर विद्यार्थी आउनुपर्छ । पहिला जस्तो पुरानो विद्यार्थी नेतृत्वलाई दोहोर्याएर भर्ना गर्ने परिपार्टी तोडेका छौं ।”
जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव) निकट समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष रमेश यादवले स्ववियु निर्वाचन धाँधलीरहित एवम् पूर्ण समानुपातिक समावेशी हुनुपर्नेमा जोड दिनुभयो । यादवले भन्नुभयो, “स्ववियु निर्वाचन धाँधलीरहित गराउनुपर्छ । हामीले पहिलादेखि नै भन्दै आएको पूर्ण समानुपातिक समावेशी हुनुपर्छ ।”
उहाँले विश्वविद्यालय तथा क्याम्पसहरूमा शैक्षिक क्यालेन्डर अनुसार काम र नतिजा हुनुपर्ने विषयमा नेतृत्वदायी भूमिका खेल्नसक्ने नेतृत्व आउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जो साथीहरू स्ववियु निर्वाचन जित्नुहुन्छ नि, क्याम्पसको पढाइ के भइरहेको छ ? समयमा कक्षा सञ्चालन भइरहेको छ कि छैन ? समयमा परीक्षा हुनपर्याे र नतिजा निकाल्नु पर्याे ।”