• २७ फागुन २०८१, मङ्गलबार

साहित्यमा काव्यात्मकताको चेत बढाऔं : प्रधानमन्त्री ओली

blog

पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्यमा काव्यात्मकताको चेत कमजोर हुँदै गएको बताउनुभएको छ ।सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित ‘मेरा अतीतका कथाहरु’ नामक आत्मवृत्तान्त कृतिको लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सजिलोका लागि छन्द, लय र पद्यात्मक शैली छोड्दै जाँदा नेपाली साहित्यको आफ्नोपन हराएको विचार राख्नुभयो । उहाँले नेपाली समाज ज्यादै महत्वपूर्ण साहित्यिक परम्पराबाट गुज्रिएर आएको र यसलाई पूनरजीवित गर्नुपर्ने भनाइ राख्नुभयो ।                 

उहाँले भन्नुभयो, “उखान, टुक्का यो बुझ्दै, बुझ्दैनन् । म केही कुरा बाहेक सबैमा बिम्बको प्रयोग गर्छु । कतिपय ठाउँमा काव्यात्मकताको चेत कमजोर भएपछि गोलमटोल देखिन्छ । जसलाई पनि उखान, टुक्का देखिन्छ ।”

मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति निष्ठापूर्णरुपमा लागेको व्यक्ति भएकाले उहाँको कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती सादा जीवन र सरल मान्छे भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँ सादा जीवनको सरल मान्छे । काममा विश्वास राखेर धेरै ठुलो एम्बिसियस राख्ने पनि होइन । राम्रो काम गर्दै जानुपर्छ भन्ने व्यक्तित्व हो ।”

 नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले ‘मेरा अतीतका कथाहरु’ मा व्यक्तिगत जीवनका गनथन मात्रै नभइ व्यक्तिसँग सम्बन्धित सांस्कृतिक, राजनीतिक, आर्थिक एवम् अनेकन गतिविधिको दस्तावेज भएको भनाइ राख्नुभयो ।


पूर्व कुलपति काइँलाले भन्नुभयो, “जीवनका तलमाथि भएका कुरा लेखी प्रकाशित गर्नुभएको छ । यो रामकहानी मात्र होइन, बाँचेको समय, स्थान, समाजको सांस्कृतिक, राजनीतिक, आर्थिक अनेकन गतिविधिको रेकर्ड पनि हो ।”

उहाँले समाजमा पैसा हुने साहु महाजनको चलखेल, शिक्षाको अभाव, जातपात, धनीगरिब लगायतको अवस्थालाई पुस्तकमा प्रस्तुत गरिएको भनाइ राख्नुभयो । पुस्तकका लेखक एवम् प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले देश अविकसित मुलुकबाट विस्तारै अल्पविकसित मुलुकको रुपमा परिवर्तन हुँदैगएको बताउनुभयो । उहाँले मुलुक समृद्धिको बाटोमा रहेको भन्नुहुँदै संविधान कार्यान्वयन तथा सुशासनयुक्त देश बन्दै गएको विचार राख्नुभयो ।

पुस्तकमाथिको समिक्षक प्राज्ञ जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले निम्न मध्यम वर्गीय परिवारमा जन्मनुभएका उप्रेती साहित्यिक, व्यवस्थापक, कुशल प्रशासक, अभिभावक र परिवारमा जिम्मेवार अभिभावक रहनुभएको टिप्पणी गर्नुभयो । उहाँले पाँचसय २२ पृष्ठको पुस्तक ‘मेरा अतीतका कथाहरु’ मा उप्रेतीका जेल जीवन र प्रज्ञा प्रतिष्ठानका १२ वर्ष बाहेकका सबै विषय प्रस्तुत गरिएको बताउनुभयो ।

कार्यक्रममा मकालु ग्रुप अफ कम्पनीका सञ्चालक तिलकबहादुर अधिकारी, नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा लगायतले शुभकामना मन्तवय राख्नुभयो ।



Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।