• ७ मंसिर २०८१, शुक्रबार

मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइने

blog

ओखलढुङ्गा (गोरखापत्र), जेठ १८ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइने भएको छ । पालिकाभित्र बोलीचालीमा रहेको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । 

गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा सुनुवार भाषा, वडा नम्बर २, ४, ५ र ६ मा तामाङ र वडा नम्बर २, ६, ७, ८ र ९ मा शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।  

स्थानीय जातजातिको बसोबास, समुदायको उपस्थिति, बाहुल्य जनसङ्ख्या रहेको आधारमा सरकारी कामकाजको भाषामा मातृभाषालाई मान्यता दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पुरीले जानकारी दिनुभयो । खिजिदेम्बा गाउँ कार्यपालिकाको बोर्डमा सामभोट लिपी प्रयोग गरिनेभएको छ । 

राष्ट्रिय भाषा आयोग, आदिवासी जनजाति आयोगसमेतको सिफारिसमा स्थानीय समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने भनि नेपाल सरकारलाई सिफारिस गरिएको जनाइएको छ । खिजिदेम्बामा सुनुवार, तामाङ र शेर्पालगायतका भाषीको बाहुल्यता रहेको छ ।