• ८ वैशाख २०८२, सोमबार

महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना

blog

उपसभामुख इन्दिरा राना शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन २४ गते । उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपसभामुख रानाले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनुभयो ।
उपसभामुख रानाले भन्नुभयो, ‘‘हामीले ठुलो ठुलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरू एकताबद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’’

उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनुभयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रूपान्तरण गर्नसकिने बताउनुभयो ।