• २४ असार २०८२, मङ्गलबार

नेपाल भारत सिमानामा प्रहरीको संयुक्त गस्ती

blog

दसगजा क्षेत्रमा संयुक्त गस्ती गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २४ गते । बाँके जिल्लास्थित नेपाल भारत सीमानामा शान्ति सुरक्षा बलियो पार्नुका साथै अवैध आयात निर्यात र अपराधिक गतिविधि रोक्न प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपाल भारत सीमानामा अवैध चोरी पैठारी नियन्त्रण गर्न तथा शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा गस्ती सुरु गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले सीमानाबाट हुने अवैध गतिविधिहरू नियन्त्रण गर्नुका साथै सीमावासीलाई शान्ति सुरक्षाको अनुभूति गराउने उद्देश्यले नेपाल भारत सिमानाको दसगजा क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरिएको बताउनुभयो । उहाँले सो गस्तीबाट नाकामा अवैध आयात निर्यात गर्ने र अन्य विभिन्न अपराधिक गतिविधि गर्नेहरुमा कानुनको डर त्रास उत्पन्न भइ त्यस्ता गतिविधि घट्ने बताउनुभयो । 

संयुक्त गस्ती टोलीले बाँकेस्थित नेपाल भारत सीमा नाका सबै क्षेत्रमा पुगेर गस्ती गर्ने जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले सो प्रकारको गस्ती सिमानामा मात्र नभई अन्य क्षेत्रमा पनि सुरु गरिएकाे उल्लेख गर्नुभयो । उहाँले दुई वटा सुरक्षा सङ्गठनले मिलेर संयुक्त गस्तीसँगै सिमाना र अन्य स्थानको निगरानी गर्दा आपराधिक गतिविधि कम हुने विश्वास व्यक्त गर्नुभयो । 

पछिल्लो समयमा आएर सीमापारीबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर नेपालतर्फ भित्रिरहेकोले यो संयुक्त गस्तीले लागु औषध ओसारपसारमा पनि नियन्त्रण हुने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो । 

खुला सिमानाका कारण अवैध आयात निर्यात र लागु औषधको ओसार पसार रोक्न प्रहरीलाई ठुलो चुनौती बनेको समयमा सुरु गरिएको यस्तो प्रकारको संयुक्त गस्तीले सो रोक्न अहम भूमिका खेल्ने प्रहरीले जनाएको छ ।