काठमाडौँ, फागुन २४ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने/नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताउनुभयो । तर आयोगले सात वटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिबद्धता अध्यक्ष मगरले जनाउनुभयो ।
सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ । महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो छ । उहाँले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
‘‘हाम्रो समाजमा अहिले जेन्डरबेस भायोलेन्सहरू देखिएको छ । बलात्कारका घटना भइरहेका छन् । यस्ता कुराहरू नियन्त्रण हुनुपर्यो । राज्यले यसमा ध्यान दिनुपर्यो । कसरी हुन्छ नियन्त्रण गरेर अघि बढ्नुपर्ने अवस्था छ । आयोग यसमा लागिरहेको छ ।,’’ अध्यक्ष मगरले भन्नुभयो, ‘‘सरकारलाई आग्रह गर्ने कुरा हामीले गरिरहेका छौँ । हामीले अनुगमन टोलीले अध्ययन गरेर सुझाव दिएका छौँ । समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ । विवाहको उमेर घटाउन सुझाव सङ्कलन गरेर आएको छ । उमेर घटाउन नहुने भन्ने कुरा आएको छ । सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ ।’’
उहाँले मातृ सुरक्षा र प्रजननसम्बन्धी कानुन बमोजिमको व्यवस्था लागु भएको वा नभएको अनुगमन गरेको र पाँच मन्त्रालयमा अनुगमन गर्दा एउटा मन्त्रालयमा पूर्णरूपमा भएको र अरू मन्त्रालयमा उक्त व्यवस्था नभएको पाइएको बताउनुभयो । उहाँले महिलाको हक अधिकार संरक्षण गर्न सबै एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।