• २६ फागुन २०८१, सोमबार

अधिकार प्रत्याभूतिबाट समानता हासिल हुन्छ : मन्त्री सुडी

blog

महिला आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर सुडि साह। तस्बिरः कबिता थापा

काठमाडौँ, फागुन २३ गते ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अधिकारको प्रत्याभूतिबाट समानता हासिल हुने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको २३ औं स्थापना दिवस तथा एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा उहाँले सो कुरा बताउनुभयो ।

मन्त्री सुडीले  ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नारासहित यस वर्ष एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गइरहेको भन्नुहुँदै हिंसाका कारण सशक्तीकरण ओझेलमा परेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो,  “म यहाँहरूलाई भन्न चाहन्छु, महिला हिंसाकै कारण सशक्तीकरण ओझेलमा परेकाले हाम्रा राष्ट्रिय लक्ष्यहरू पूरा गर्न एकदमै अवरोधहरू आउने गरेको छ । महिला अधिकार हरेक महिलाले न्युनतम मानवीय मर्यादासहित जीवनयापन गर्न पाउने अवस्था तयार भएको हुनुपर्दछ । अधिकारको प्रत्याभूतिबाट मात्रै समानता हासिल हुन्छ ।”

उहाँले सबै उमेर समूहका किशोरी तथा महिला घरपरिवारदेखि सार्वजनिक स्थलसम्म सुरक्षाको प्रत्याभूति हुने भनाइ राख्नुभयो । न्युनतम मानवीय मर्यादासहित जीवनयापन गर्न पाउने अवस्था निर्माण हुनुपर्ने उहाँको भनाइ । मन्त्री सुडीले संवैधानिक निकायको रूपमा रहेको महिला आयोग सबै नेपाली महिलाको न्याय माग्ने निकायको रूपमा रहेको उल्लेख गर्नुभयो । आयोगको संरचनागत सुधारका लागि तत्काल काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला आयोग र मानव अधिकार आयोगले समन्वय गरेर काम गर्दैआएको बताउनुभयो ।समावेशी आयोगका अध्यक्ष विष्णुमाया ओझाले सबैलाई सम्मान गर्नसक्ने संस्कारबाट नै समानता, अवसरका मुद्दा अघि बढाउन सकिने बताउनुभयो । घरपरिवार, समाज र महिलाका जीवन बनाउने बाटोमा अधिकारकर्मी लागिरहेको उहाँको भनाइ छ ।


थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले परम्परागत सोच एवम् रुढीवादी प्रथाका कारण महिला अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले समाजिक सुरक्षाको वातावरण बन्न सके मात्र समानता, अधिकार र सशक्तीकरणको क्षेत्रमा अगाडि बढ्न सकिने भनाइ राख्नुभयो ।

 महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले विभिन्न क्षेत्रबाट सहजीकरणका लागि काम गर्दैआएको बताउनुभयो । अध्यक्ष पराजुलीले भन्नुभयो, “महिला आयोगले २३ औं वर्ष मनाइरहेको छ । राष्ट्रिय महिला आयोगको अपेक्षा पूरा गर्न सक्ने अवस्था निर्माण होस् ।” 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले आयोगले स्थापना भएको उद्देश्यअनुरूप हालसम्म कार्य गर्दैआएको भन्नुहुँदै अधिकारको लडाइमा सबै एकजुट हुनपर्ने बताउनुभयो । एक्लाएक्लै लड्दा महिलाको मुद्दा कमजोर हुने उहाँको भनाइ छ । आयोगले नेपाल पत्रकार महासङ्घका पहिलो महिला अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ । 

कार्यक्रममा महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल, सावित्राकुमारी शर्माले शुभकामना मन्तव्य राख्नुभयो । आयोगले २३ औं स्थापना दिवस तथा एक सय १५ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान प्रदान गरेको छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।