काठमाडौँ, फागुन २५गते । मोटोपन विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा देखा पर्दैगएको छ । उच्च आय भएका देशमा मात्र देखिएको मोटोपनको समस्या कम र मध्यम आय भएका देशमा तीव्र गतिमा बढ्दै छ ।
नेपालमा पनि मोटोपनको समस्या तीव्र गतिमा बढ्दो छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्कअनुसार सन् २००० देखि २०१६ मा नेपालमा बालबालिकामा मोटोपन ७.७ प्रतिशतले बढेको थियो । जुन विश्वकै उच्च दरमध्ये एक हो । वयस्कमा मोटोपन ३.२ प्रतिशतले बढेको तथ्याङ्कमा उल्लेख छ ।
बालबालिकामा बडी मास इन्डेक्स (बिएमआई) सन् २०३० मा १० प्रतिशत बाट २८ प्रतिशत बढ्ने अनुमान गरिएको छ । यदि मोटोपनलाई नियन्त्रण गर्न उचित कदम चालिएन भने सन् २०३० सम्ममा अधिक तौल र मोटोपनका कारण हुने वार्षिक खर्च तीन ट्रिलियन अमेरिकी डलर पुग्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुमान छ । त्यस्तै सन् २०६० सम्ममा यो खर्च १८ ट्रिलियन अमेरिकी डलर नाध्न सक्ने अनुमान गरिएको छ ।
मोटोपन भनेको के हो ?
मोटोपन जटिल दीर्घरोग समस्या हो । शरीरमा अत्यधिक बोसो जम्मा भएमा मोटोपन भएको मानिन्छ । इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुख डा. पोमा थापाका अनुसार उचाइभन्दा तौल बढी भएका त्यास्तो अवस्थालाई मोटोपन भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बडी मास इन्डेक्स (बिएमआई) ३० भन्दा बढी भएमा मोटोपन भएको मानिन्छ । यसले उचाइअनुसार तौल ठिक भए नभएको जाँच गर्छ ।
मोटोपनले स्वास्थ्यमा असर पुर्याउने परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापा बताउनुहुन्छ । मोटोपनले टाइप टु मधुमेह र मुटुको रोगको जोखिम बढाउनुका साथै, हड्डीको स्वास्थ्य, क्यान्सर र प्रजनन क्षमतामा कमी ल्याउने समस्या निम्त्याउने गर्छ । मोटोपनले निन्द्रा लगायतका दैनिक जीवनशैलीमा असर पुर्याउने डा. पोमाको भनाइ छ ।
व्यक्तिको तौल र उचाइ मापन गरेर तथा बिएमआई मापन गरेर मोटोपनको पहिचान गर्न सकिन्छ । कम्मरको मापन विधिले मोटोपनको पहिचान गर्न मद्दत गर्छ । विश्व स्वास्थ्य सङ्गठनले मोटोपनलाई अधिक तौल बिएमआइ २५ वा सोभन्दा बढी भएको अवस्था अधिक तौल भएको मान्छ भने बिएमआई ३० वा सो भन्दा बढी भएको अवस्थालाई मोटोपन भएको मानिन्छ ।
मोटोपनको कारण
थापाका अनुसार सहरीकरण, अत्यधिक चिल्लो, चिनी, कार्बोहाइड्रेटयुक्त खाना, अस्वस्थ जीवनशैलीको कारणले मोटोपन तीव्र गतिमा बढ्दै गएको छ । खानपान र शारीरिक गतिविधिबिचको असन्तुलनको कारणले मोटोपन हुनेगर्छ ।
मोटोपन दुई वा दुईभन्दा बढी कारक तत्वको कारणले हुने थापाको भनाइ छ । गम्भीर रोग, कुनै रोगविरुद्धको औषधीको सेवनको कारणले गर्दा पनि मोटोपन बढ्ने उहाँ बताउनुहुुन्छ । त्यो बाहेक शारीरिक निष्क्रियता, आनुवंशिक कारणले गर्दा मोटोपन बढ्ने थापाको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको सर्वेक्षणले ५० प्रतिशत मोटोपन अति प्रशोधित खानाले भएको देखिएको छ ।
मोटोपनले निम्त्याउने समस्या
थापाका अनुसार उच्च बिएमआइ भएकाहरुमा नसर्ने रोगको जोखिम उच्च हुन्छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अधिक तौल र मोटोपन मधुमेह, मुटु रोग, क्यान्सरजस्ता दीर्घरोग निम्तिने प्रमुख कारण रहेको देखाएको छ ।
मोटोपनले मुटुरोग, मधुमेह, पक्षघात, क्यान्सर, मस्तिकघात, टाइप टु मधुमेह, मानसिक समस्या, उच्चरक्तचाप जस्ता दीर्घ स्वास्थ्य समस्या निम्तिने थापा बताउनुहुन्छ । सन् २०१९ मा उच्च बिएमआई भएका पाँच लाख मानिसको मृत्यु नसर्ने रोगजस्तै मुटुरोग, मधुमेह, क्यान्सर, स्नायु प्रणालीका रोग, दीर्घ श्वास प्रश्वासको समस्या पाचन प्रणलीको समस्या भएको अनुमान गरिएको छ ।
बाल्यकाल र किशोरावस्थामा मोटोपन भएमा टाइप टु मधुमेह र मुटु तथा रक्तसञ्चारसम्बन्धी रोगको जोखिम बढ्छ । इडिसिडीको तथ्याङ्क अनुसार सन् २०२० नौ लाख ३५ हजार ४५० जना वयस्कमा उच्च बिएमआइ थियो । जसको सङ्ख्या सन् २०३५ सम्म २४ लाख ४४ हजार २०१ पुग्ने अनुमान गरिएको छ।
बच्ने उपाय
मोटोपन हुन नदिन सन्तुलित खाना प्रोटिन, फाइबर, कम कार्बोहाइड्रेटयुक्त खानेकुरा खाने। नियमित व्यायाम गर्ने, पर्याप्त पानी पिउने, तनाव कम गर्ने, चिल्लो तथा चिनीयुक्त खानेकुरा कम खाने, तरकारी तथा फलफूल प्रशस्त मात्रामा सेवन गर्ने, नियमित रूपमा शारीरिक व्यायाम गर्न थापाको सुझाव छ । बालबालिकाले दैनिक कम्तीमा ६० मिनेट व्यायाम गर्ने, वयस्कले हप्तामा कम्तीमा १५० मिनेट व्यायाम गर्न विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ ।
के गर्दै छ सरकार
मोटोपनलाई नियन्त्रण गर्न सरकारले दीर्घकालिन योजना बनाएर काम अगाडि बढाएको डा. पोमा थापा बताउनुहुन्छ । नीतिगत निर्णय गरे मोटोपन नियन्त्रणको काम अगाडि बढाएको डा. पोमा बताउनुहुन्छ । स्वास्थ्यकर खानाको पहुँच वृद्धि गर्ने, सही पोषणसम्बन्धी सचेतना फैलाउने काम भइरहेको डा. पोमाको भनाइ छ ।