कीर्तिपुर (काठमाडौँ), मङ्सिर २ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एनपिएल सुरक्षाको नेतृत्व गरी रहनुभएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताउनुभयो ।
त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार पाँच सय भन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उहाँले राससलाई बताउनु भयो ।
रङ्गशाला परिसरमा नया संरचनाहरू तयार भएको र नेपालीहरूमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उहाँको भनाइ छ । “यसपटक एकैतर्फ तीन वटा सम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,” उहाँले भन्नुभयो ।
रङ्गशालामा ४२ वटा सिसिटिभी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी गरिएको छ । यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ ।
खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरू गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पुर्याइएको छ । यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ ।
एनपिएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरू र कुकुरको समेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिनु भयो ।
रङ्गशालाको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरू हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ ।
खेलाडीको निवास र रङ्गशालासम्म उनीहरूको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताउनुभयो ।रासस