• २० फागुन २०८१, मङ्गलबार

किशोरीहरुका निम्ति एचपिभिविरुद्धको खोप

blog

बाहिनीहरू, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियानका बारेमा सुन्नुभएको छ ? विश्व क्यान्सर दिवसका अवसरमा यो अभियान सुरु हुँदै छ । पाठेघरको मुखको क्यान्सर लाग्न नदिन खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियान  अन्तर्गत देशभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई यस्तो खोप दिइन्छ ।  

सरकारले एचभिपीविरुद्धको खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्दैछ । यो अभियान अन्तर्गत झन्डै १७ लाख किशोरीले निःशुल्कमा खोप लगाउन पाउने छन् । 

एचपिभीविरुद्धको खोप लगाउने अधिकांश किशोरी विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्रको सुविधा विद्यालयमै हुने छ । विद्यालय नजाने किशोरीलाई नजिकको खोप केन्द्रबाट खोप दिइने छ । तपाईं पनि यसै उमेर समूहका हुनुहुन्छ भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, शिक्षक आदिसँग सम्पर्क गर्नुहोला है ?  

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्ने भएकाले यो खोप ढुक्कसँग लगाउन सुझाव दिनुभयो ।

नेपालमा धेरै महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको छ । यसका कारण बर्सेनि झन्डै एक हजार पाँच सय महिलाले ज्यान गुमाउने गरेका छन् । पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । यो क्यान्सर मुख्य गरेर एचपिभी भाइरसको सङक्रमणबाट हुन्छ । एचपिभी भाइरस दुई सयभन्दा बढी प्रजातिका हुन्छन् । तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । ह्युमन प्यापिलोमा भाइरसबाट सङक्रमित व्यक्तिको यौनाङ्गको छाला, यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोगका जीवाणु सर्छ ।  एचपिभी सङक्रमण २० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ । एचपिभी सङक्रमणको सुरुको अवस्थामा कुनै लक्षण देखिँदैन । पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुःख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने जस्ता लक्षण देखिन्छ । 

डा. गौतमका अनुसार यो खोप सानो उमेरमा लगाएमा पछि यस्तो क्यान्सर लाग्नबाट बच्न सकिन्छ । यो खोपले पछिका लागि रोकथामको काम गर्दछ । यो खोपलाई विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भनी प्रमाणित गरेको छ । एचपिभीविरुद्धको खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिँगाटा लाग्ने, मांसपेशी दुख्ने, थकाइ लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता समस्या देखिन सक्छ । यस प्रकारका असर केही समयपछि आफैँ ठीक हुँदै जाने डा. गौतमले बताउनुभयो । पहिले यो खोप लगाइसकेकाले यस पटक लगाउनु पर्दैन । 

         मुना

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।