• २० फागुन २०८१, मङ्गलबार

‘अनुशासित कार्यकर्ताले एमाले बलियो शक्ति बनेको हो’

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुस्तक लोकार्पण गर्नुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः सुजन गुरुङ

काठमाडौं, फागुन १९ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक सिर्जनात्मकताको ठुलो अपेक्षा पार्टी पङ्तिमा रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, “मुलुकको सामाजिक, राजनीतिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री ओली अध्यक्ष रहनुभएको पार्टी नेकपा (एमाले) को महत्वपूर्ण योगदान रहँदैआएको छ । अध्यक्ष ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सराहना गर्दछु ।”

उहाँले भविष्यमा समेत रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिंढी उकाल्न अध्यक्ष ओलीबाट योगदान रहने उल्लेख गर्नुभयो । जननेता मदन भण्डारीद्वारा अगाडि सारिएको नेपाली क्रान्तिको कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ लाई एमालेले मार्गदर्शनका रुपमा मानेको र निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरी सामाजिक न्यायसहितको सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सङ्कल्प गरेको उहाँको भनाइ छ । 


उहाँले भन्नुभयो, “भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को एउटा सिंढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ । मलाई लाग्छ, पार्टीका समस्त नेता तथा कार्यकर्ताकोे उहाँबाट अपेक्षा पनि यस्तै राजनीतिक सिर्जनात्मकतामा रहेको हुनु पर्दछ ।”

उहाँले राजनीतिक दलले जस्तोसुकै कठिन परिस्थितिमा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसात् गर्नुपर्ने भनाइ राख्नुभयो ।उहाँले भन्नुभयो, “बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै नेतृत्वमा पुग्ने र सामाजिक, आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको नेकपा (एमाले) लाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन । किनकि, यस पार्टीसँग जनआधारित, अनुशासित कार्यकर्ता, सदस्यहरुको व्यापक तथा विस्तारिक पङ्ति, अनुभवी एवम् दृढ नेतृत्व छ ।”

उहाँले बहुमुखी प्रतिभाका धनी प्रधानमन्त्री ओलीको सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अगाडि बढाउन देख्नुभएको महान् सपना, अथक सङ्घर्ष र सङगाल्नुभएको विशिष्ट सङ्कल्पलाई थप उजागर गरी जनमानससम्म पुर्‍याउन लेखिएको पुस्तकको सम्पादक, सबै लेखक र प्रकाशकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री ओलीको जीवन सङ्घर्षको आयाम फराकिलो भएको बताउनुभयो । उहाँले अध्यक्ष ओलीको झापा विद्रोहसँग जोडेर भ्रमपूर्ण चित्रण हुने गरेको बताउनुभयो । उहाँले समाज बदल्न विद्रोह गर्नैपर्ने तर ओली अनुशासित विद्रोही भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अध्यक्ष ओली अनुशासित विद्रोही, समाजलाई बदल्न विद्रोह गर्नैपर्छ, तर उहाँ अनुशासित विद्रोही हो । उहाँले पार्टीको अनुशासनको सीमा उल्लङ्घन गर्नु भएन ।” उहाँले अध्यक्ष ओलीको नेतृत्वमा विगतमा नेपालको नयाँ नक्सा प्रकाशन, नाकाबन्दीको सामना, राष्ट्रिय एकताको पक्षमा दिशानिर्देश गर्ने कुरामा असाधारण काम भएको बताउनुभयो । बालबालिका, युवा, स्रष्टालगायत समाजका सबै पक्षसँग आत्मीयता रहे पनि सामाजिक सञ्जालमा पछिल्लो समय अध्यक्ष ओलीको आलोचना भएकोप्रति ध्यानाकर्षण गराउनुभयो । 


पुस्तकका सम्पादक तथा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले कालो कोठरीमा रहेर चुरोटको खोलमा कविता लेख्नुभएको कुराले कौतुहलता ल्याएको र विगत दुई, तीन वर्षदेखि अध्यक्ष ओलीको आत्मवृत्तान्त लेखनका लागि भएको प्रयास सफल भएको बताउनुभयो । पुस्तकको मूर्त रुप पाउन नौ महिना लागेको उहाँको भनाइ छ । 

कार्यक्रममा पूर्व राजदूत निलाम्बर आचार्य, पत्रकार तथा साहित्यकार कनकमणि दीक्षित, कृष्णमुरारी भण्डारी, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, अल्केमी प्रकाशनका घनश्याम खड्का, उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, बैङ्कर अशोक शेरचन, कलाकारद्वय प्रकाश सपुत र केकी अधिकारीले मन्तव्य राख्नुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।