काठमाडौं, फागुन १८ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष वैशाखदेखि फागुन १८ गतेसम्म तीन हजार ९९२ वटा आगलागी तथा डढेलोका घटना भएका छन् ।
उक्त आगलागीमा परी ७३ जनाको मृत्यु, ४३० जना घाइते, चार हजार ५७४ परिवार प्रभावित भए । पाँच सय ४१ आंशिक तथा एक हजार ३३८ पूर्ण रुपमा घर क्षति, ९०७ गोठ तथा दुई हजार २६२ पशु चौपायासहित जम्मा एक अर्ब ८२ करोड ५२ लाख सात हजार ८३ रुपियाँ अनुमानित क्षति भएको छ ।
प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराईले अधिकांश आगलागी मानवीय क्रियाकलाप तथा लापरवाहीबाट हुने गरेको बताउनुभयो ।
डा. भट्टराईले भन्नुभयो, “अधिकांश आगलागी मानवीय क्रियाकलापबाट जस्तै मान्छेले घरमै आगो बाल्ने र लापरवाही गरेर त्यत्तिकै छोड्ने । कतै बत्ती, टुकी, दियो बालेर छोडिदने । यस्ता गतिविधिबाट नै आगलागी हुने गरेको छ । जङ्गलतिर जाँदा चुरोटका ठुटाहरु फालिदिने, आगो बालिदिनेजस्ता कार्यले आगलागी र डढेलो निम्तिन सक्छ ।”
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा यसरी हुने आगलागी तथा डढेलोबाट बर्सेनि दुई अर्बभन्दा बढीको अनुमानित क्षति हुने गरेको छ ।
यसअघि २०८० मा चार हजार ५४० वटा आगलागी तथा डढेलोका घटना भए । जसमा १२६ को मृत्यु, ५२८ घाइते, पाँच हजार २५२ परिवार प्रभावित भए । पाँच सय ३० घर आंशिक तथा एक हजार ११४ घर पूर्ण रुपमा क्षति, दुई हजार २१६ चौपायासहित दुई अर्ब ५४ करोडभन्दा बढी अनुमानित क्षति भयो ।
२०७९ मा तीन हजार २१४ आगलागी तथा डढेलोका घटना भए । जसमा ११० जनाको मृत्यु, ३९५ घाइते, तीन हजार ७७४ परिवार प्रभावित भए । पाँच सय ८७ आंशिक तथा नौ सय ९१ घरमा पूर्ण क्षति, दुई हजार १७३ चौपायासहित दुई अर्ब ५२ करोभन्दा बढी अनुमानित क्षति भएको थियो ।
मानवीय बस्तीमा क्षतिको अनुमानित विवरण आकलन गरिए पनि वन तथा जङ्गल क्षेत्रमा हुने गरेको क्षतिको यकिन आकलन हुन सकेको छैन ।
उहाँले भन्नुभयो, “यो वर्ष मात्रै होइन, सधैं जसो सुख्खायाममा आगलागीका घटना हुन्छन् नै । जङ्गलमा आगलागी भएपछि त हावा बढेपछि जोखिम बढ्छ । कहिलेकाहीं गाउँ नै आगलागीको जोखिममा पर्ने हुन्छ ।” सुख्खा मौसममा आगलागीका घटना झनै बढ्ने जोखिम रहेको उहाँको भनाइ छ ।
यसैगरी, २०७८ मा दुई हजार ४६६ आगलागी तथा डढेलोको घटनामा परेर ९५ जनाको मृत्यु, ३८१ घाइते, दुई हजार ८९५ परिवार प्रभावित भए । सात सय ११ आंशिक तथा सात सय ७५ घरमा पूर्ण क्षति, ९६८ पशु चौपायासहित दुई अर्ब २७ करोडभन्दा बढी अनुमानित क्षति भयो ।
यसअघि, २०७७ मा २५ सय ८६ वटा आगलागीका घटना हुँदा ९७ जनाको मृत्यु र ३७९ जना घाइते, तीन हजार ३७३ परिवार प्रभावित भए । ६८२ आंशिक तथा एक हजार १०९ घरमा पूर्ण क्षति भयो । १४ सय १४ पशु चौपाया क्षतिसहित एक अर्ब ८२ करोड रुपियाँभन्दा बढी अनुमानित क्षति भयो ।
प्राधिकरणको तथ्याङ्क अनुसार आगलागी तथा डढेलोको घटनाबाट बर्सेनि मानवीयसहित दुई अर्बभन्दा बढी आर्थिक क्षति हुने गरेको छ ।
आगलागी तथा डढेलोका घटना तथा यसबाट हुने क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने जिज्ञासामा उहाँले सचेतना अभिवृद्धि नै मुख्य उपाय रहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “जति सचेतना अभिवृद्धि गर्न सक्छौं, मान्छेलाई आगोको संवेदनशीलता बुझाउन सक्छौं, त्यति नै यसको जोखिम घटाउँदै जाने हो । मुख्य कुरा, सचेतना नै हो । हाम्रो देशमा धेरै आगलागीका घटना मान्छेले लगाएको आगोले नै हुने गरेको छ । दोस्रो कुरा, आगलागी भइहाल्यो भने कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने कुरामा हाम्रा निकाय तथा संयन्त्रहरु दरिला बनाउनुपर्यो ।”
यसका लागि सम्बन्धित निकायलाई तालिम प्रदानका लागि तालिम केन्द्रहरु निर्माण गर्नुपर्ने, दमकलहरु सही ठाउँमा राख्नुपर्ने, स्वयंसेवक निर्माण लगायत तत्काल आगलागी नियन्त्रणका लागि संयन्त्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।