सल्यान समाचारदाता
सल्यान, फागुण १५ गते । सल्यानमा १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनामा तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कुमाख गाउँपालिका–२, नेटास्थित नारायण माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी तथा कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले संयुक्त रूपमा गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री अधिकारीले खेल क्षेत्रको विकासका लागि सरकारले ध्यान दिइरहेको बताउँदै अब खेल पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई सडकभन्दा खेलमैदानको निर्माणमा केन्द्रित हुन आग्रह गर्नभयो ।
कर्णाली प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले खेलकुद क्षेत्रलाई उचाइ दिन नेपाली खेलाडीहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रदेश सरकारले यस क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो ।
प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो, मार्सल आर्ट लगायतका खेलहरू समावेश गरिएको छ । एथ्लेटिक्स अन्तर्गत दौड, लङ जम्प, हाई जम्प, जाभलिन थ्रो लगायतका प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगितामा शारदा, बागचौर, बनगाड कुपिण्डे नगरपालिका, दार्मा, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, कालिमाटी, सिद्धकुमाख र कुमाख गाउँपालिका गरी १० स्थानीय तहका करिब ९०० जना खेलाडी सहभागी छन्।
प्रदेशस्तरीय खेलका लागि खेलाडी छनोट
‘राष्ट्रका नाममा खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई प्रदेशस्तरीय हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिने बताइएको छ ।
खेल व्यवस्थापनका लागि ४८ जना रेफ्रीसहित १०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जिल्ला खेलकुद समिति सल्यानका अध्यक्ष खडक आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।