• २५ जेठ २०८२, आइतबार

हीरक महोत्सव गृहकार्यमा आयोग

blog

काठमाडौँ, जेठ २५ गते । लोक सेवा आयोगले ७५ औँ स्थापना दिवसको अवसर पारेर बर्सैभरि कार्यक्रम गरी हीरक महोत्सव मनाउने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनापछि २००८ असार १ गते लोक सेवा आयोग स्थापना भएको हो । आयोगले स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । 

आयुक्त वीरबहादुर राईले स्थापना दिवसमा विशेष कार्यक्रमसँगै विश्वविद्यालय र विद्यालय स्तरमा लोक सेवा आयोगको महत्वबारे जानकारी गराउने, विभिन्न विधाका विद्वान्सँग आयोगले अवलम्बन गरेको कर्मचारी छनोटसम्बन्धी विधि र प्रक्रियाबारे छलफल तथा अन्तर्क्रिया गर्ने बताउनुभयो । यसै गरी ऐतिहासिक विषयवस्तुको अभिलेखीकरण गर्ने जस्ता कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन हुने जानकारी उहाँले दिनुभयो । प्रत्येक दुई महिनामा एउटा कार्यक्रम गर्ने गरी बर्सैभरिको कार्यक्रमका रूपरेखा पनि तयार गरिएको छ ।  

आयोगका प्रवक्ता एवं सहसचिव गीताकुमारी होमेगाईंले स्थापनाको ७५ वर्ष पूरा भएकोमा आयोगले बर्सैभरि कार्यक्रम गरी हीरक महोत्सव मनाउने जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना दिवसको अघिल्लो दिन आयोगले आफ्नो सभा कक्षलाई ‘भुवनमान सिंह प्रधान सभा कक्ष’ नामकरण गर्ने भएको छ । २०१५ देखि २०४५ सालसम्म आयोगका विभिन्न पदमा रही सेवा गर्नुभएका प्रधान २०३७ देखि २०४५ सालसम्म सचिवका रूपमा कार्यरत रहनुभएको थियो । 

आयोगको कार्यसम्पादनलाई पारदर्शी र निष्पक्ष बनाउन योग्यता, निष्पक्षता र स्वच्छता प्रवर्धनमा प्रधानको योगदानलाई सम्मान गर्दै सो निर्णय गरिएको प्रवक्ता होमेगार्इंले बताउनुभयो । प्रधानले उत्तरपुस्तिकामा दोहोरो सङ्केत राख्ने र परीक्षार्थीको पहिचान शून्य बनाउने तथा परीक्षा प्रविधिको विकासमा महत्वपूर्ण योगदान गर्नुभयो । कमलपोखरीस्थित आयोगको केन्द्रीय कार्यालयमा रहेको सभाकक्ष दुई सय जना अटाउने क्षमताको छ । 

स्थापना दिवसमा असार १ गते विशेष कार्यक्रमको आयोजना गरी आयोगमा कार्यरत उत्कृष्ट कर्मचारी तथा पूर्वकर्मचारीलाई सम्मान गरिने छ । राष्ट्रपति प्रमुख अतिथि रहनुहुने सो कार्यक्रममा प्रधानमन्त्री र प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई आमन्त्रण गरिएको प्रवक्ता होमेगाईंले बताउनुभयो ।  

आयोगले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्नुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्दै आएको छ । छनोट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्न आयोगले प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन गर्दै आएको छ । 

आयुक्त राईले विभिन्न कार्यक्रमका अतिरिक्त आयोगले नीतिगत विषय, परीक्षण प्रणालीमा सुधारलगायतबारे छलफल तथा अन्तर्क्रिया गर्ने बताउनुभयो । यसै वर्ष आयोगले संस्थागत क्षमता विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्न परीक्षा केन्द्र र आयोगको भवन निर्माण कार्यलाई प्राथमिकता दिने छ । आयोगले आयोजना गर्ने विशेष कार्यक्रमकै दिन हीरक महोत्सव जनाउने प्रतीक चिह्नसमेत सार्वजनिक गर्ने छ ।